मुलुक छाड्ने युक्रेनीको संख्या ३५ लाख

मुलुक छाड्ने युक्रेनीको संख्या ३५ लाख

रुसले युक्रेनमाथि आक्रमण थालेयता झण्डै ३५ लाख युक्रेनीले मुलुक छाडेका छन् । संयुक्त राष्ट्र संघकाअनुसार विस्थापितमध्ये अधिकांश छिमेकी मुलुकहरुमा पुगेका छन् । त्यसैगरी, थप एक करोड मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् । उनीहरु युक्रेन भित्रकै विभिन्न स्थानमा लुकेको पाइएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय युएनएचसीआरले झण्डै एक महिनाको अवधिमा ३४ लाख ८९ हजार छ सय ४४ युक्रेनी नागरिक विस्थापित भएको जानकारी दिएको छ । ‘पछिल्लो चार हप्तालाई संसारले अविश्वासको रूपमा हेरेको छ । अनगिन्तीले जीवन गुमाएका छन्, लाखौं मानिस पूर्ण रूपमा विचलित भएका छन्,’ युएनएचसीआरका प्रमुख फिलिपो ग्रान्डीले भने ।

मुलुक छाडेकामध्ये ९० प्रतिशत महिला र बालबालिका छन् । १८ देखि ६० वर्ष उमेरका युक्रेनी पुरुषहरू सैन्य बोलावटको निम्ति योग्य रहेकाले उनीहरुलाई मुलुक छाड्न दिइएको छैन । संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफले विदेश पलायन भएकामध्ये १५ लाखभन्दा बढी बालबालिका रहेको जनाएको छ ।

टिप्पणीहरू