मदिराको चोरी निकासी बढ्यो
नेपालबाट भारततर्फ मदिराको चोरी निकासी बढेको छ । धनुषामा सशस्त्र प्रहरी बलले दुई सय २३ कार्टुन मदिरा बरामद गरेको छ । मदिरा निकासी गर्न प्रयोग भएका छ वटा मोटरसाइकल पनि बरामद भएको छ ।
मदिरा राखेर लैजाँदै गरेका मोटरसाइकल चालक सशस्त्रको टोली देख्ने बितिक्कै सवारी साधन र मदिरा सबै छाडेर भागेका थिए । सशस्त्र प्रहरी बलका अनुसार धनुषाको जनकनन्दनी गाउँपालिका १ इनर्वास्थित सीमा इलाकाबाट उक्त मदिरा बरामद भएको हो ।
स्थानीय वाहिनीको १५ सदस्यीय स्क्वाड टोलीको अपरेसनको क्रममा दुई सय सात कार्टुन सोफी मदिरा, सात कार्टुन भर्जिन मदिरा र नौ कार्टुन ब्ल्याक ओके मदिरा फेला परेको हो । ती सबै मदिराको अनुमानित मूल्य तीन लाख १० हजार र मोटरसाइकलको मूल्य आठ लाख ५० हजार गरी ११ लाख ६० हजारको अवैध सामान नम्बर ८ गण धनुषामार्फत् आन्तरिक राजश्व कार्यालयमा दाखिला गरिएको बताइएको छ ।
टिप्पणीहरू