कोरोनाकाे दुई वर्ष

कोरोनाकाे दुई वर्ष

यसअघि त्यति ठूलो महामारीको सामना नगरेको नेपाललाई कोरोना भाइरसले विश्वका अन्य मुलुकलाई झैँ शिथिल बनाएको छ । चीनको वुहान सहरबाट फैलिएको कोरोनाबाट नेपाल पनि अछुत रहेन । वुहानमा सन् २०१९ डिसेम्बर ३१ बाट फैलिन शुरु गरेको भाइरसले एकाध महिनामा यहाँपनि आक्रमण गर्यो ।

२०७६ माघ १० गते नेपालमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो । वुहानबाट आएका एक युवकमा संक्रमण पुष्टि भएको हो । एकजनामा संक्रमण देखिँदा सबै त्रसित बनेका थिए । त्यसको दुई महिनापछि चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि कोरोना संक्रमण पुष्टि भयो ।

त्यसको एक सातापछि चैत ११ गतेबाट देशव्यापी लकडाउन गरियो । योजनाबिनाको लकडाउनले जनजीवन ठप्प भयो । विद्यालयहरु बन्द भए,पठनपाठन शून्य बन्यो । आम नागरिकलाई बिहान बेलुकीको छाक टार्न पनि निकै सकस पर्यो । सबैजना आफ्नो घर वा कोठाभित्र थुनिन बाध्य भए । सरकारले लकडाउन गरे पनि कोरोना खासै नियन्त्रण हुन सकेन ।

पटकपटक लकडाउनको म्याद थप्दै गए पनि खासै प्रभावकारी बन्न नसकेको पुष्टि भयो । कोरोना संक्रमितको संख्या घट्नुको सट्टा झनै बढ्दै गयो । खुल्ला सीमाना, परीक्षण साधनको अभाव र कन्ट्रयाक्ट ट्रेसिङ हुन नसक्दा संक्रमण बढेको थियो । अव्यवस्थित क्वारेन्टिन कोरोना नियन्त्रणमा अर्को महाभारत बनेर सबैका सामु देखियो ।

लकडाउनका कारण मुलुकको अर्थतन्त्र तहसनहस भयो । उद्योगहरु डुब्ने अवस्थामा पुगे । हातमुख जोर्न धौ धौ भएर सर्वसाधारणहरु भोकभोकै रन्थनिए । बढ्दो जनदबाब र कर उठाउने प्रयोजनको लागि सरकारले २०७७ साउन ७ गतेबाट लकडाउनलाई खुकुलो पार्न थालेको हो ।

लकडाउन खुकुलो हुँदै गएपछि जनजीवन बिस्तारै सामान्य बन्दै गएको थियो । सबैजना र क्षेत्र लयमा फर्किंदै थिए भने उद्योगहरु पनि चलायमान हुने अवस्थामा आइसकेको थियो । कोरोना संक्रमितको संख्या एक हदसम्म कम भए पनि निस्फिक्री बाहिर निस्किन सक्ने अवस्था भने थिएन ।

अघिल्लो वर्ष विश्वले कोरोन विरुद्धको खोप लगाउने अभियान सुरु गरिसक्दा नेपाल भने कुन खोप खरिद गर्ने र कहाँबाट गर्ने भन्ने विषयमै अलमलिएको थियो । २०७७ माघ ७ गते नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले १० लाख डोज खोप दिने प्रतिबद्धता जनाएपछि माघ ८ गते उक्त खोप काठमाडौं ल्याइयो ।

स्वास्थ्यकर्मी, शव उठाउने कार्यमा संलग्न जनशक्ति, सरसफाईकर्मीलगायतलाई सो खोप लगाइने प्राथमिकतामा राखियो । जसोतसो कोरोनाको पहिलो लहर पार गरे पनि दोस्रो लहर निकै डरलाग्दो बन्यो । डेल्टा भेरिएन्ट निकै नै संक्रामक हुने जनस्वास्थ्यविद्हरुले बताएका थिए । बालबालिकामा बढी असर देखिने उक्त भेरिएन्टबाट बच्ने दुइवटा मात्र उपाय थियो ।

कि जनस्वास्थ्य मापदण्डको कडा पालना, कि सबैमा खोपको पहुँच उक्त अवस्था मात्र थियो । अग्रपंक्तिमा खटिनेलाई खोप दिन मुश्किल परिरहेको बेलामा सबैको पहुँचमा खोप पुर्याउनु असम्भवझंै थियो । दोस्रो लहरमा आइपुग्दा पनि सरकार कोरोना नियन्त्रणमा झन् चुक्यो । २०७८ वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरियो तर संक्रमण निस्तेज गर्न सरकार असफल बन्यो । नेपाल निषेधाज्ञामै अड्किरहेको बेला दक्षिण कोरिया, जापान, ताइवानजस्ता मुलुक बिना निषेधाज्ञा कोरोना रोकथाममा लागिपरेका थिए ।

पहिलो लहरकोभन्दा दोस्रो लहरको भेरिएन्ट झनै आक्रामक बन्न थाल्यो । अस्पतालमा बेड थिएन भने बिरामीलाई अक्सिजन पाउनै सकस भएको थियो । पहिलो लहरबाट पाठ नसिक्दा दोस्रो लहरले नेपाललाई नराम्रोसँग अँठ्यायो । भारतबाट आउनेको लर्को र खुला सीमानाका कारण संक्रमितको संख्या ह्वात्तै बढ्यो । क्वारेन्टिन भद्रगोल हुनु र जनस्वास्थ्य मापदण्डको पालना नगर्नाले मृत्यु हुनेको संख्या दोब्बर हुँदै गयो । दैनिक दुईदेखि तीन सय जनाको मृत्यु भइरहेको थियो । सम्भावित संक्रमितको पहिचान गर्न नसक्दा डेल्टा भेरिएन्ट थप चुनौतीपूर्ण बन्यो । पीसीआर शुल्क तिर्न नसक्नेहरु भित्रभित्रै कोरोनाको लक्षण लुकाएर बस्थे, जसले गर्दा पनि कोरोना समुदायस्तरमै फैलिन सहज भएको हो ।

सरकारी र निजी अस्पतालहरुमा आइसोलेसन मात्र होइन, आईसीयू र भेन्टिलेटर बेड भरिभराउ भइसकेको थियो । अक्सिजन बेडका लागि पनि पालो कुरेर बस्नेहरुको संख्या ठूलो थियो । अस्पतालले पटक पटक बेडको लागि आग्रह गर्दा पनि सरकारले नसुन्दा धेरैको अकालमा ज्यान गयो । यता, शव व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको दृश्य हाम्रै आँखा अगाडि ताजा छ ।

पहिलो लहरमा स्रोतसाधनको अभावबाट गुज्रिसकेका नेपालीले दोस्रो लहरमा पनि यसबाट छुटकारा पाउन सकेनन् । आर्थिक मन्दी, बेरोजगारी, ऋणमा वृद्धि बढ्दै भयो भने कोरोना नियन्त्रणमा सरकार असफल देखियो । कोभिड १९ का लागि बनाइएका नीतिहरु सबै बिफल भयो । वैशाखदेखि सुरु भएको निषेधाज्ञा असारमा आएर खुकुलो बन्यो । निषेधाज्ञा खुकुलो भए पनि संक्रमित र मर्नेको संख्यामा कमी आएन । खोप पाउने स्थिति अझै पनि सहज बनिसकेको थिएन । खोप लगाउनकै लागि दिनभरि लाइनमा बस्नुपर्ने समस्याको हल खोज्न सरकार चुकेको धेरैले बताए ।

कोरोनाको दोस्रो लहरबाट मुक्ति नपाउँदै पुनः तेस्रो लहरको हमला सुरु भयो । पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरिएन्ट केही सातामै नेपालमा पनि देखापर्यो । नेपालमा पहिलोपटक दुई जनामा यो भेरिएन्ट पुष्टि भएको हो । तर, अरु भेरिएन्टभन्दा यो भेरिएन्ट कम संक्रामक देखिएको जनस्वास्थ्यविद्हरुले त्यतिबेलै बताएका थिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले डेल्टा भेरिएन्ट सबैभन्दा बढी संक्रामक रहेको त्यतिबेलै बताउनुभएको हो ।

दोस्रो लहर केही होइन भन्ने मानसिकता बनाएका कारण दोस्रो लहरमा धेरैको मृत्यु भएको उहाँको बुझाइ छ । खुल्ला सीमानाले गर्दा नेपाल कोरोनाको निशानामा परेको उहाँ बताउनुहुन्छ । डाक्टर पुन भन्नुहुन्छ, ‘दोस्रो लहरमा मात्र खोप खाँचो रहेछ भन्ने कुरा बुझे । कोरोनाको जोखिम सबैले बराबर भोगेको हुँदा यो सबैको लागि एउटा पाठ भयो ।’ उहाँका अनुसार सबैभन्दा सजिलै टरेको भनेकै कोरोनाको तेस्रो लहर हो ।

हाल पनि नेपालमा खोप लगाउने क्रम जारी छ । हालसम्म कुल जनसंख्याको ७५ दशमलव २ प्रतिशतले कोरोनाविरुद्धको पहिलो खोप पाएका छन् । दुई करोड १९ लाख ४८ हजार नौ सय सात जनाले पहिलो खोप पाइसकेका छन् । त्यसैगरी, ६४ दशमलव ५ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् । एक करोड ८८ लाख ५२ हजार नौ सय ७९ जनाले दुवै खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । कोरोनाका कारण हालसम्म ११ हजार नौ सय ५१ जनाको मृत्यु भएको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घटिरहेको छ ।

टिप्पणीहरू