बालेनले एमाले र काँग्रेसको 'धङधङी' स्वीकार नगर्ने

बालेनले एमाले र काँग्रेसको 'धङधङी' स्वीकार नगर्ने

काठमाडौं महानगरपालिका नगरसभा बैठक स्थगित भएको छ । आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रमबारे छलफल गर्न डाकिएको बैठक एमाले र काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहिष्कारपछि स्थगित भएको हो । 

नगरसभा स्थगित भएपछि महानगरका मेयर बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । तीन जना नेताका कारण १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको जनाउँदै उनले नगरसभामा दलीय प्रतिनिधित्व स्वीकार नगर्ने प्रष्ट पारे । 

नगरसभा बैठकमा कोही पनि पार्टीको नेता र उपनेता नहुने उल्लेख गर्दै मेयर बालेनले काँग्रेस, एमालेको धङधङी बोकेर बैठकमा नआउन चेतावनीसमेत दिएका छन् । 

‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा रहँदैन् । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रुपमा चाँहि त्यसको औपचारिकता मात्र दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन् । काठमाडौं महानगरपालिकाको नगरसभामा काँग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला’, उनले लेखेका छन् । 

आजको नगरसभा बैठक शुरु हुनासाथ बालेनले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई नाम टिपाउन पाँच मीनेट समय दिएका थिए । लगत्तै काँग्रेस र एमालेका वडाध्यक्षहरुले बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका हुन् । 

कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि आउँदो असार १० गते बिहान ११ बजेका लागि अर्को बैठक बोलाइएको छ ।

टिप्पणीहरू