पौने तीन अर्ब घोटाला आरोपमा कृषि सहकारीका अध्यक्ष पक्राउ

पौने तीन अर्ब घोटाला आरोपमा कृषि सहकारीका अध्यक्ष पक्राउ

बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेका ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समातिएका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यक्ष तेजविक्रम थापासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा व्यवस्थापक काठमाडौंको गोकर्णेश्वर बस्ने ४४ वर्षीया सजना राजकर्णिकार, सदस्यहरु चावहिलका ४७ वर्षीय सञ्जय सापकोटा र कीर्तिपुर बस्ने ५३ वर्षीय भीमसेन महर्जन रहेका छन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सानुराम भट्टराईका अनुसार तनहुँ घर भएका ४३ वर्षीय थापा ०५६ सालदेखि संस्थाको चिफ अकाउण्टेण्टसहित संस्थापक सदस्य रहेको र ०६० सालदेखि कार्यकारी अध्यक्ष रहेको पाइएको छ । 

यस्तै, उनी ०६६ सालदेखि समिट अस्पताल र कृषि इन्भेष्टमेण्ट प्रालि, ०७० सालदेखि अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाइजेशन उद्योग र कृषि फ्रेस प्रालि, ०७१ सालदेखि इन्टेन्सिव एग्रिकल्चर कम्पनी र कृषि टेलिभिजनसहित ०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष रहेको पनि खुलेको छ । 

गत माघ २६ गते समस्याग्रस्त घोषित उक्त सहकारीका दुई हजार पाँच सय ३१ जना बचतकर्ताले दुई अर्ब ८२ करोड २७ लाखभन्दा बढी रकम मागदाबीसहित उजुरी दिएका छन् । यी चारै जनाको मिलेमतोमा पाँच सय ६६ जना बचतकताको ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको समेत आरोप छ । 

प्रहरीले उनीहरुको साथबाट ६ थान मोबाइल, ३ थान पेन ड्राइभ, हस्ताक्षरसहितको चेक ३ थान, बा. २५ च ४२९६ नम्बरको इको म्यान एउटा, संस्थानको एक थान छाप, यति टेक्निक फार्मको छाप एक थान र अध्यक्ष थापाले राज ठकुरीको नाममा बनाएको गोरर्खा टिभीको परिचयपत्र पनि बरामद गरेको छ ।
 

टिप्पणीहरू