‘करेण्ट’ चाउचाउमा भेटिए किरा स्याउँस्याउँती

पछिल्लो समय धेरैले मन पराएको चाउचाउमध्ये एक हो, ‘करेण्ट’ । यशोदा फुड्सले उत्पादन गरेको ‘करेण्ट’ चाउचाउ नेपाली बजारमा निकै लोकप्रिय मानिन्छ । पिरो स्वाद भएकाले यो चाउचाउ धेरैको रोजाईमा परेको हुनसक्छ । 

कोरोना महामारीका कारण कोरियन रामेनको आयात रोकिएपछि बजारमा ‘करेण्ट’ को माग एकाएक बढ्दा उत्पादन शुरु भएको केही वर्षमै उक्त चाउचाउले नेपाली बजारमा राम्रै हिस्सा लिएको हो । हाल उक्त चाउचाउ भारत, अष्ट्रेलिया र अमेरिकामासमेत निर्यात हुन थालेको छ । 

यशोदाले पिरो मात्र नभई अन्य स्वादको चाउचाउ पनि उत्पादन गर्दै आएको बताएको छ । यतिबेला सामाजिक सञ्जालमा ‘करेण्ट’ चाउचाउको एउटा भिडियो भाइरल बनेको छ । चाउचाउको प्याकेटभित्र किरैकिरा देखिन्छ । 

‘करेण्ट’ टु–एक्स चाउचाउ पकाउने क्रममा प्याकेट खोल्दा सेता किरा निस्किएपछि ती व्यक्तिले भिडियो बनाएका हुन् । उक्त भिडियोले सामाजिक सञ्जालमा लाखौं भ्युज पाएको छ भने हजारौं प्रतिक्रिया आएको छ । 

अधिकांशले मानव स्वास्थ्यमाथि खेलबाड गर्ने चाउचाउ कम्पनीलाई कारबाहीको माग गरेका छन् । एक जनाले लेखेका छन्,‘मानव स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता कम्पनी अब सरकारले बन्द गर्नुपर्छ ।’ त्यस्तै लेखिएको छ, ‘एकपछि अर्को चाउचाउमा किरा भेटिइरहेको छ । अब होसियार रहौं,आफ्नो स्वास्थ्यको ख्याल गरौं ।’

‘करेण्ट’ चाउचाउमा यसअघि पनि किरा भेटिएको थियो । गोरखाको गोरखा नगरपालिका ७, डण्डीडाँडामा चाउचाउ पकाउने क्रममा प्याकेटबाट किरा निस्किएको हो । त्यसपछि कम्पनीले विज्ञप्तिमार्फत् खण्डन गरेको थियो । 

छिटो–मीठो खाजाको रुपमा परिचित चाउचाउ मन्द विष प्रमाणित भइसकेको छ । यसले मोटोपना बढाउने, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुसम्बन्धी रोग लाग्ने चिकित्सकहरुले बताएका छन् । विवादास्पद व्यापारी तथा सांसद विनोद चौधरीको सिजी ग्रुपले उत्पादन गरेको ‘वाइवाइ’ चाउचाउमा घातक रसायन भेटिएपछि गत वैशाख १२ गते काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको थियो । 

चाउचाउमा मानिस शरीरमा क्यान्सर हुनसक्ने घातक रसायन भेटिएपछि महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना र ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को सबै उत्पादन बजारबाट फिर्ता लिन निर्देशन दिएको थियोे  ।

टिप्पणीहरू