‘नेपालको अवस्था श्रीलंकाको जस्तो हुँदैन’

‘नेपालको अवस्था श्रीलंकाको जस्तो हुँदैन’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने स्थिति नरहेको दाबी गरेका छन् । आज नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उपाध्यक्ष ढकालले स्वदेशमा उत्पादित वस्तुहरुको उपभोग नगर्दासम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने पनि बताए । उनले भने, ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदैनौँ र तबसम्म स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना र आर्थिक समृद्धि गर्न सक्दैनौँ ।’

ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताएका छन् । साथै, उनले अर्थतन्त्र सुधार गर्ने खालका काम गर्न निजी क्षेत्रलाई आग्रह समेत गरेका छन् ।

‘मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न सक्यो भने अहिलेको चुनौतीपूर्ण अर्थतन्त्रको सामना गर्न सक्छौं, उनले भने, ‘मलाई श्रीलंकाको जस्तो अवस्था हुन्छ भन्ने लाग्दैन । तैपनि, अर्थतन्त्र सुधार गर्ने खालका काम गर्न निजी क्षेत्रलाई आग्रह गर्दछु ।’

टिप्पणीहरू