डलर खाता खोल्न अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गर्नुभएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताउनुभयो ।
‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस् । बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले भन्नुभयो, ‘६, ७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ । राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदनअनुसार ९ अर्ब ५८ करोड डलर छ, पेट्रोलको मूल्य बृद्धि हुँदा लाखौं डलर बाहिर पठाउनु परेको छ ।’
विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भन्ने हेतुले डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको मन्त्री शर्माले बताउनुभयो । डलर खातामा भएको रकम सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको उहाँको भनाइ छ ।
नेपालमा आउने पर्यटकलाई फ्री भिसा दिनेबारे छलफल भै रहेको र त्यसले एनआरएनएलाई पनि सहज हुने पनि मन्त्री शर्माले बताउनुभयो ।
टिप्पणीहरू