उपत्यकाका खोलानाला, सफा हुने कहिले होला ?

उपत्यकाका खोलानाला, सफा हुने कहिले होला ?

उपत्यकाका खोलानाला निकै प्रदूषित छन् । धार्मिक, पौराणिक र ऐतिहासिक महत्व बोकेका ती नदीनालामा सीसा, प्लास्टिक, बोरा, फोहोरको थुप्रो र सडेगलेका सामानबाहेक अरु केही देखिँदैन । केही दशक अघिसम्म सङ्लो पानी बग्ने उपत्यकाका खोलानालामा अहिले मलमूत्र बग्ने ओपन ढल बनेको छ ।

बागमती, धोबीखोला, रुद्रमती, विष्णुमती, गुहेश्वरी, हनुमन्तेलगायतका खोलामा पानी बगेको देख्न उपत्यकावासीका लागि बर्खायाममा बाहेक असम्भवझैं भइसकेको छ । पछिल्लो समय उपत्यकामा बढ्दो मावन बस्तीका कारण पानीका मुहानहरु प्रदूषित हुँदै गएका छन् । अव्यवस्थित सहरीकरणले ढल व्यवस्थापनमा कठिनाइ भइरहेको छ ।

ढल व्यवस्थापन गर्ने नाममा खोलानालामा ल्याएर मिसाउने कामले अहिले नदीको अवस्था विकराल भएको हो । सरकारले पटकपटक ढल प्रशोधन गर्ने भने पनि योजनाविहीन नीतिका कारण त्यसबाट सामान्य उपलब्धि समेत हासिल गर्न सकिएको छैन । मंगाल, सेफ्टी ट्यांकी र ढल प्रशोधन नगरी खोलानालामा मिसाउन नपाइने भनिएको छ । तर, यहाँ शौचालयको मंगाल सोझै नदीमा नमिसाउने सायदै होलान् ।

नियमनकारी निकायले अनुगमनमा उदासीनता देखाउँदा गैरकानुनी भनिएका कामहरु पनि नियमित भइरहेका छन् । ह्युमपाइपमार्फत खोलानालामा ढल मिसाउँदा जलचरहरु मासिएका छन् । पशु, चौपायाहरुलाई पानीको खोजीमा तड्पिनुपर्ने बाध्यता छ ।

यता, उपत्यकावासीलाई समेत पानीको हाहाकार हुने गरेको धेरै भइसकेको छ । हालसम्म जसोतसो जोहो भइरहेको पानी र खोलानाला प्रदुषित हुँदा राजधानी कुरुप बनेको छ ।

नदीनालाको वरपर फोहोरको डङ्गुर थुपारिदिँदा राजधानीबासी भन्न पनि लज्जित बन्नुपर्ने अवस्था छ । पछिल्लो समय उपत्यकाको फोहोर व्यवस्थापन कार्य पनि निकै पेचिलो बन्दै गएको छ । एक पटक मात्र नभई तारन्तार एउटै समस्या बल्झिँदा उपत्यकावासी आजित बनेका छन् । भनेको बेलामा फोहोर नउठ्दा खोलामा फोहोर फ्याल्ने क्रम झन् बढ्दो छ । यसबाट नदी झन् प्रदुषित बन्न पुगेको हो ।

यता, सर्वसाधारण भने खोलानाला दुर्गन्धित हुँदा निकै सास्ती भएको बताउँछन् । नाक नछोपी नदीनालाको वरपर हिँड्नसक्ने अवस्था पनि देखिँदैन । सरकारको प्राथमिकतामा खोलानालाको सरसफाइ नपरेको नागरिक अगुवाहरु बताउँछन् । चाडपर्व मनाएझैँ सरसफाइ गर्ने अभियानले खोलानालाको स्थितिमा कुनै सुधार आउन सकेको छैन ।

शहरी विकास मन्त्रालयले खोलानाला सरसफाइका निम्ति अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको गठन गरेको छ । २०५१ चैत २८ गते बाग्मती ढल सुधार आयोजनाका नाममा स्थापना भएको उक्त समितिले झण्डै तीन दशकसम्म खासै प्रभावकारी काम गर्न सकेको देखिँदैन ।

उक्त समितिको नेतृत्व स्थापनाकालमा हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । तर, पछि पूर्वसांसद् विदुर पौडेलले नेतृत्व गरेको बेलामा यसलाई अधिकार सम्पन्नको हैसियत दिइएको थियो । अधिकारले सम्पन्न भए पनि सर्वसाधारणको अपेक्षाअनुरुप काम गर्न नसकेको आरोप अहिलेसम्म लागिरहेको छ । स्थापनाको २७ वर्ष बितिसक्दा पनि उक्त समितिले फोहोर पानीलाई सङ्लो समेत बनाउन सकेको छैन ।

बागमती सरसफाइका लागि महाअभियान नै सुरु गरे पनि योजनाको अभावमा यसले केही फरक पारेको देखिँदैन । बिहान दुई घण्टा राष्ट्रका लागि स्वयम्सेवा भन्दै नारा घन्काए पनि खोलानाला सफा भएको पाइएको छैन । देशव्यापी कार्यक्रमका रुपमा सुरु भएको अभियानले खासै काम गर्न नसकेपछि सरकारले सरसफाइका निम्ति छुट्याएको बजेट बालुवामा पानी हालेसरह भएको छ ।

यता, सरकारी पक्षले खोलानालाको संरक्षणका लागि जनचेतना कार्यक्रम नल्याउँदा खोला र नदीको अवस्था थप दयनीय र विकराल बन्दै गएको हो । खोला र नदी मुलुकको धरोहर हो भनेर बुझ्नेको कमी हुँदा जोगाउन सकस परेको बताइन्छ ।

स्वच्छ पानी बगाउने भनेर सरकारले विभिन्न आयोजना ल्याए पनि औचित्यपूर्ण बन्न सकेको छैन । खोला र नदीमा स्वच्छ पानी बग्नु भनेको मानिस, जीवजन्तु र वातावरणको निम्ति जीवनदान हो । तापनि यसको संरक्षणमा हेलचेक्रयाईं गरिँदैछ, किन ?

पहिलेभन्दा सफा भएको छ : मन्त्रालय

शहरी विकास मन्त्रालयले उपत्यकाका खोलानाला पहिलेभन्दा केही हदसम्म सफा भएको दाबी गरेको छ । बाग्मती सभ्यता एकीकृत विकास समितिले साताको एकपटक बाग्मती खोलाको सरसफाइ गर्ने गरेको मन्त्रालयका सूचना अधिकारी रोशन श्रेष्ठले बताए । यता, धोबीखोला सरसफाइ गर्ने जिम्मेवारी भने उपत्यका विकास प्राधिकरणलाई दिइएको उनी बताउँछन् ।

अहिले अभियानको रुपमा एकदिन गरेको र पछि बढाउँदै लैजाने उनको भनाइ छ । ‘वर्षौं लगाएर गरेको फोहोर सफा गर्नपनि वर्षौं लाग्ने त भइहाल्यो’ सूचना अधिकारी श्रेष्ठ भन्छन् ।

‘पछिल्लो समय बस्ती बाक्लिँदै गएकाले पनि ढल व्यवस्थापन गर्न गाह्रो परेको छ । गोकर्णेश्वरलगायतका क्षेत्रमा धमाधम नयाँ बस्ती बन्दैछ । त्यहाँको ढल पनि बाग्मतीमै आएर मिसिन्छ । ढल व्यवस्थापनका लागि समितिसँग मिलेर योजना बनाउने काम भइरहेको छ,’ उनले भने ।

अध्ययन भइरहेको छ : विभाग

मानवीय व्यवहारकै कारणले वातावरण प्रदुषण हुने काम भइरहेको वातावरण विभागले जनाएको छ । पानीको स्रोत हो, सफा राख्नुपर्छ भन्ने जनचेतनाको अभावका कारणले वातावरणमा ह्रास आएको विभागकी सूचना अधिकारी सरोजा अधिकारीले बताइन् ।

उनले खोलाकै लागि भनेर विभागले छुट्टै नीति नबनाए पनि यसको अध्ययन भने गरिरहेको जानकारी दिएकी छन् । खोलाको पानी कसरी प्रशोधित गर्नेबारे योजना बनाइरहेको उनको भनाइ छ ।

टिप्पणीहरू