अवैध औषधि बेच्ने ’ज्यानमारा’ फार्मेसीमा पुलिसको छापा
औषधिजस्तो संवेदनशील वस्तुलाई नाफाको व्यापार बनाएर मानव स्वास्थ्यमा खेलाँची गर्ने डाक्टर हेल्थ केयर फार्मेसीका सञ्चालक समातिएका छन् । नियन्त्रित औषधि लुकाएर बेचेको आरोपमा प्रहरीले फार्मेसीका सञ्चालक कविर लामा भनेर चिनिने उदय थिङलाई हिजो साँझ पक्राउ गरेको हो ।
नरेफाँटस्थित सो फार्मेसीका सञ्चालक मकवानपुरको हेटौंडा उप–महानगरपालिका–१६ घर भै हाल नरेफाँट बस्ने थिङलाई नियन्त्रित औषधि ट्रामाडोलल हाइड्रोक्लोराइड क्याप्सुल आइ.पी. र ट्रामाडेक्स हाइड्रोक्लोराइड क्याप्सुल आइ.पी. सहित पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उक्त फार्मेसीबाट नियन्त्रित औषधि ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ४२ हजार पाँच सय र ट्रामाडेक्स हाइड्रोक्लोराइड क्याप्सुल १० हजार पिस बरामद भएको छ । बरामद औषधिसहित फार्मेसीका सञ्चालक थिङलाई थप अनुसन्धान तथा कारवाहीका लागि औषधि व्यवस्था विभाग पठाइएको उनले बताए ।
उपत्यकाका विभिन्न स्थानमा नियन्त्रित औषधिहरु लुकाई छिपाई बिक्री वितरण भइरहेको भन्ने सुराकीका आधारमा उक्त फार्मेसीमा छापा मार्दा सो परिणाममा औषधि बरामद भएको महाशाखाले जनाएको छ ।
टिप्पणीहरू