बुझ्ने कमरेडलाई यो कुरा गहिरो छ

बुझ्ने कमरेडलाई यो कुरा गहिरो छ

राहुल गान्धीले आफ्नो भाषणको बेला गोड्सेको नाम लिए तर गोड्सेजी भनेर सिम्मान जताए । यी गोड्से भन्ने मानिस ‘नाथुराम’, महात्मा गान्धीका हत्यारा हुन् । र, साथसाथै आरएसएस तथा भाजपाजस्तो गान्धी परिवारको कट्टरविरोधी दलले समर्थन गरिरहने एक अत्यन्तै विवादास्पद पात्र पनि हुन् । त्यस्तो विरोधीलाई पनि राहुलले जी भनेर सम्बोधन गरे ।

अंग्रेजीमा रेटोरिक भन्दा ठ्याक्कै बुझिन्छ तर, नेपालीमा बयानबाजी भन्दा अलि के हो, के हो जस्तो लाग्छ । खासमा कुरा उही हो । पार्टी विभाजन भएको यथार्थ हो । साथसाथै पार्टी मिल्नुपर्छ, एक हुनुपर्छ भन्ने भावना कार्यकर्ता र समर्थक जनतामा प्रवल रहेको पनि जमिनी यथार्थ हो ।

तर, नेतृत्व तहमा रहेको अहंकार र खासखास मान्छेमा रहेको स्वतुष्टिकरणको भावनाले जमिनी यथार्थ माथि छारो हाल्ने काम गरिरहेको छ र जनताको चाहना प्रकट हुन पाइरहेको छैन । यस्तै हो, आफ्नो संस्कारमा नझर्ने हो भने, जनताले गर्नसक्ने केही छैन न त कार्यकर्ताले नै केही गर्नसक्ने अवस्था छ । माकेले जित्ने नगण्य हो, एसको पनि उही हो तर एमालेले भने धेरै जितेर पनि हार्ने हो ।

विचारधारा र विकास तथा सुशासनको पक्षबाट हेर्दा पनि कांग्रेस जनविरोधी पार्टी हो । यसको नेतृत्वमा देश जाँदा के के हुन्छन् भन्ने कुराको जिउँदो जाग्दो साक्षी त हामी स्वयं छौं । देशको औद्योगिकरणको विषयमा कांग्रेसको धारणा के हो भन्ने कुरा बताइरहन पर्दैन । एउटा पनि बाँकी नराखेर सबै राष्ट्रिय उद्योग बेची सिध्याउने काम गरे । प्राकृतिक श्रोत–साधन पनि विदेशीलाई बुझाएकै हुन् ।

फरक विचारधारा राख्नेहरूप्रति कस्तो व्यवहार गर्छन् भन्ने कुरा त गिरिजाकालमा अप्रेसन रोमियोजस्ता दमनकारी अप्रेशन चलाएर निर्दोष मानिसमाथि कार्वाही चलाएको देख्ने र भोग्ने अहिले पनि जिउँदै छन् । के अब फेरि पनि यस्तै होस् भनेर चाहेको छ यो वाम नेतृत्वले ? व्यक्तिगत अहंकार र तुष्टिकरणले हानि नै गर्छ ।

अहिले पनि हेरौं न ! एमालेले मात्रै सत्ता र अवसर गुमाएको छ कि अपवादबाहेक अरु माके र एसले पनि गुमाएका छन् ? राष्ट्रिय राजनीतिमा के उस्तै हैसियत छ त तीनै जनाको र अरु दोस्रो स्तरका नेताहरूको पनि ? जनता, समर्थक र कार्यकर्ताहरू त निराशाको तहमा छन् । कानमा गुँड लाउने चमेरो भनिएर बस्नुको पीडाजत्तिकै पीडा बालकोट भवनमा मुडोमा बस्दा पनि छ । तर खै त पीडाबाट शिक्षा लिएको ?

महँगी यस्तो छ । नोकरी गर्नेले त जेनतेन गुजारा चलाउला । तर गरिखाने भुइँ तहका मान्छेको के हाल होला ? तेल, मसला, दाल, प्याज, आलु घरमा पस्नसक्ने अवस्था लगभग अन्त्य हुँदै छ । अब मल र खाद तथा बीउबिजन पनि महङ्गो हुने कुरामा शंका छैन । यो खिचडी सरकारबाट यी समस्याहरूको संवोधन हुने त कुरै भएन । यो सरकार लगातार बदनाम हुँदै गइरहेको छ ।

यता हामी भने एकआपसमा झगडा गरेर, एकार्कालाई सकेसम्म बदनाम गरेर, जनताको नजरबाट खसालिदिएर, भोट नपाउने अवस्था सृजना गरिदिएर कांग्रेसलाई सजिलोसँग चुनाव जित्ने वातावरण बनाई काममा जुटेका छौं । यस्तो कामले बदनाम हुँदै गइरहेको कांग्रेसलाई जनताको नजरमा ठीक रहेछ भन्ने भान पार्ने काम गरिरहेको छ । यस्तो भएपछि कांग्रेसलाई सजिलो हुन्छ ।

यदि, भोलि चुनाव जितेर आयो भने कांग्रेसले वामपन्थीहरू प्रति कस्तो व्यवहार गर्ला ? माथिल्लो तहमा समस्या नरहला किनभने त्यहाँ वर्गसंघर्ष होइन कि वर्ग समन्वय हुन्छ । तर तीव्र वर्गसंघर्ष हुने गाउँघरमा कांग्रेसले गर्ने जनविरोधी तथा दमनकारी नीतिको प्रतिरोध गर्नु धेरै नै कठिन काम हुनेछ ।

सामाजिक तथा आर्थिक न्याय, राजनीतिक तथा पर्यावरणीय न्यायको प्रत्याभूति दिनका लागि पनि बामपन्थीहरूले चुनावमा बिजयी भएर सरकार चलाउन सक्ने हुनु आवश्यक छ । तर यस्तो हुन नदिन हाम्रो अहिले प्रकट भइरहेको संस्कार जुन वास्तवमा हाम्रो संस्कार होइन, त्यसले रोकिरहेको छ । जस्तोसुकै भए पनि जी जोड्न सिकौं, कमरेड भन्न सिकौं र आन्दोलनमा हामी हरेकले पु¥याएको योगदानको अवमूल्यन गर्ने काम बन्द गरौं ।

किनभने पार्टी यस्तै बोलिचालीमा, मानसम्मानमा विचार पु¥याउन नसक्दा फुटेको हो । सिद्धान्त र विचारधारामा बेमेल भएर फुटेको होइन । अमेरिकाको सिनेटमा जम्मा छजना मात्र छन् प्रगतिशील सिनेटर डेमोक्रेटिक पार्टीको तर्फबाट । तर यी छ जनाले अमेरिकी सरकार र समाजलाई सामाजिक एजेण्डामा काम गर्न सदन र बाहिरबाट धेरै ठूलो दबाब दिइरहेका छन् र धेरै हदसम्म सफलता पनि हासिल गर्दै गइरहेका छन् । तर हामीमा त्यस्तो झिनो संख्या नभएर बहुमत सदस्य आफूलाई कम्युनिष्ट हुँ भन्नेहरू नै छन् केन्द्र, प्रदेश र स्थानीय तहमा पनि । तर यस्तो अनुकूल अवस्था हुँदाहुँदै पनि देश जण्ड सुधार वा आमूल परिवर्तनको बाटोमा प्रवेश गर्न सकेन ।

अहिले त कम्युनिष्टहरूको एकमना सरकार पनि छैन । जेसुकै भनिए तापनि अहिले गैरसैद्धान्तिक तथा गैरविचारधारात्मक गठबन्धनको सरकार बनेको छ केन्द्र र प्रदेशमा । यो जनताले प्रदान गरेको म्याण्डेट र जनचाहनाको बर्खिलाप पनि छ । यस्तो अवस्थाबाट पार पाउन हामी धेरै गम्भीर भएर, विवेक पु¥याएर चल्नुपर्ने बेला हो यो । अहिले चुकियो भने भविष्यमा यस्तो अनुकूलतामा बदल्न सकिने वातावरण प्राप्तगर्न धेरै मुश्किल पर्नेछ ।

अन्त्यमा, अझै समय घर्किएको छैन । एउटा आह्वानले देश राताम्य हुन सक्छ । वर्षमान पुनले भनेजस्तो कसैले पनि माफी माग्नै पर्दैन । हिजो जस्तो गल्ती जो जोबाट भएको होस्, त्यस्तो गल्ती अब नदोहो¥याउने प्रतिबद्धता सबैले जाहेर गरे पुग्छ । अब स्थानीय तहको चुनाव सम्मुखमै भएको कारण अहिलेलाई हिजो जुन रेसियोमा सिट बाँडफाँड गरिएको थियोे सोही रेसियोमा तालमेल गर्ने र सबैले सूर्य नै चुनाव चिह्न लिएर चुनाव लड्ने ।

यो चुनाव सकिएपछि केन्द्र र प्रदेशको चुनाव हुनुअगाडिको बीचमा तीन दलले ऐतिहासिक एकता तथा मेलमिलाप कार्यक्रम आयोजना गर्ने । अरु पार्टी मिलान गर्ने कुरा बृहत् छलफल गरी चुनाव सकिएपछि गर्ने । चुनावमा जित हासिल गर्ने योभन्दा सरल अर्को उपाय छैन । बाँकी त पदीय विद्वानहरू नै जानुन् ।

टिप्पणीहरू