नेताका नातेदारको बिगबिगी,खाँटी कार्यकर्ता बागी
नेताका आफन्त र नातागोतालाई स्थानीय तहको टिकट बाँड्ने प्रवृत्ति अन्यत्रझैँ कर्णाली प्रदेशमा पनि देखिएको छ । दैलेखको नारायण नगरपालिका प्रमुखमा नेपाली काँग्रेसले १४ जनाको नाम सिफारिस गरेकोमा एक सातासम्म उम्मेदवारको टुंगो लगाउन नसकेपछि प्रदेश समितिले पार्टी उपसभापति पूर्णबहादुर खड्काकी साली निर्मला खड्कालाई टिकट दिएको छ ।
२०७४ को स्थानीय निर्वाचनबाट उनी नारायण नगरपालिका–७ को वडा सदस्य निर्वाचित भएकी हुन् । उनले टिकट पाएपछि नगर प्रमुखका आकांक्षीहरू प्रकाश न्यौपाने,क्षेत्रीय सभापति गणेश उपाध्याय,महाधिवेशन प्रतिनिधि वासना थापा,भूपेन्द्र शाही, खेमराज केसी,मनोज थापालगायत नेता रुष्ट बनेका छन् ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा बिन्द्रासैनी नगरप्रमुखमा उम्मेदवारी हालेका छन् । मन्त्री शाहीकै दबाबमा उनलाई काँग्रेस नगर समितिले उम्मेदवार सिफारिस गरेको हो । गणेशले मन्त्रीको छोरा मात्रै नभएर पार्टीमा ठूलो योगदान भएकाले आफू नगरप्रमुखको उम्मेदवार बनेको दाबी गरे ।
उनी यसअघिको निर्वाचनमा एमाले उम्मेदवारबाट पराजित भएका थिए । नातावाद काँग्रेसमा मात्रै होइन एमालेमा पनि झाँगिएको छ । दैलेखकै ठाटीकाँध गाउँपालिकामा एमाले प्रदेश कमिटी अध्यक्ष विनोद शाहले श्रीमती लक्ष्मीदेवीलाई अध्यक्षको उठाएपछि युवा नेता मदन रिजालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेकपा एमाले केन्द्रीय लेखा आयोगको सदस्य रहेकी शाह जिल्ला समन्वय समितिकी उपप्रमुखसमेत हुन् । उनी निर्वाचित भएदेखि ५ वर्षसम्म गाउँमा नआएको रिजालले बताए । नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काकी बहिनी तप्ता थापा पनि एमालेबाट नगरपालिकाको उम्मेदवार बनेकी छन् । आफू पुनः प्रमुखको उम्मेदवार नहुने भएपछि बहिनीलाई उपप्रमुखको उम्मेदवार बनाइएको एमालेका एक जिल्ला सदस्यले बताए ।
टिप्पणीहरू