सडकपेटीका गमलाको कसले गर्यो सत्यानाश ?
रुपन्देही सिद्धार्थनगर नगरपालिकाको सडक छेउमा राखिएका बिरुवा र गमला ढलाइएको छ । वडा नम्बर १२ आवारोडस्थित सडकपेटीमा पाइपको गमलामा लगाइएका बिरुवासहित ढालिएको छ ।
दुई वर्षअघि वडा कार्यालय मार्फत विनियोजित दुई लाख बजेटमा लगाइएका ४१ वटा बिरुवामध्ये आज बिहान १२ वटा सडकमा ढलेकोे अवस्थामा फेला परेका हुन् । वातावरण संरक्षण र हरियालीका लागि २०७७ को असारमा वडाले उक्त बिरुवा लगाएको थियो ।
सडकपेटीमा लगाइएका बिरुवा मर्निङवाकमा हिँडेका मानिसले लडाएको हुन सक्ने प्रहरीले बताएको छ । बिहान ४ बजेको सिसिटिभी फुटेजमा कैद भएको दृष्यका आधारमा दुई जना युवाले बिरुवा र गमला ढाल्दै हिँडेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले दिएको जानकारीअनुसार सडकका गमला लडाउँदै हिँड्ने ‘ट्यापे‘ जस्ता देखिएका छन् । उनीहरु मर्निङवाककालागि निस्केको जस्तो पनि देखिएको पौडेलले बताए ।
उनका अनुसार एक जनाले मादक पदार्थ सेवन गरेर हिँडेको जस्तो देखिएको छ । हाल उनीहरु प्रहरीको नियन्त्रणमा आइसकेका छैनन् । उनीहरुको विस्तृत पहिचान पनि नखुलेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ ।
बिहान ढलाइएका बिरुवामध्ये दुई वटा नष्ट भएका छन् । अन्यलाई सोही स्थानमा सारिएको छ ।
टिप्पणीहरू