वडाध्यक्षका उम्मेदवारले खुकुरी हाने
सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरेको अभियोगमा वडाध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका ७ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका सुके तामाङ पक्राउ परेका हुन् ।
सुकेसँगै घटनामा संलग्न रहेका देवराज गुरुङको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । ‘वडाध्यक्षका उम्मेदवार घटनामा संलग्न भएको भन्ने अझै प्रमाणित भइसकेको छैन । हामीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं,’ उहाँले भन्नुभयो ।
खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था सामान्य छ । एक जनालाई भने उपचारको निम्ति काठमाडौं ल्याइएको छ । घाइते सबै माओवादी केन्द्र निकट वाईसीएलको प्रचार प्रसार समितिका सदस्यहरू हुन् । उनीहरुलाई हिजो राति बा. ९६ ख ५२२३ नम्बरको मोटरसाइकल चढेर आएको टोलीले खुकुरी प्रहार गरेको थियो ।
टिप्पणीहरू