खेलाडी–प्रशिक्षक विवाद मिलाउन एन्फा अघि सर्यो

खेलाडी–प्रशिक्षक विवाद मिलाउन एन्फा अघि सर्यो

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट १० खेलाडीबीचको विवादलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएर छानबिन गर्ने भएको छ । आज एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेट्दै छानबिनको आश्वासन दिएका हुन् ।

स्रोतका अनुसार अध्यक्ष शेर्पाले छानबिन समिति बनाउने र त्यसले चार दिनभित्र निश्कर्ष निकालेर प्रतिवेदन बुझाउने बताएका छन् । यसअघि खेलाडीले खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलगायतलाई पत्र पठाएर निष्पक्ष छानबिन गर्न आग्रह गरेका थिए ।

यसअघि मुख्य प्रशिक्षक अल्मुताइरीले हुकुमी शैलीमा बन्द प्रशिक्षणबाट निकालेको भन्दै खेलाडीहरु मिडियामा आएपछि विवाद बाहिरिएको थियो । खेलाडीले प्रशिक्षकको व्यवहारका कारण वैशाख १३ गते होटेल छाडेका थिए । त्यसको स्पष्टीकरण दिन पर्सिपल्ट १५ गते पत्रकार सम्मेलन गरेका उनीहरुले निष्पक्ष छानबिनको माग गरेका थिए ।

अल्मुताइरीले भने खेलाडीहरू खबर नै नगरी क्याम्पबाट भागेको आरोप लगाएका छन् । असन्तुष्ट रहेका खेलाडीले आफूलाई कुनै जानकारी नदिइ टिम छाडेको बताउँदै उनले एसियन कप छनोटमा सहभागी नगराउने बताएका थिए ।

यस्तै, खेलाडी संघ र असन्तुष्ट खेलाडीले १९ वैशाखमा एन्फा महासचिवलाई निष्पक्ष छानबिनको लागि पत्र बुझाएका थिए ।

टिप्पणीहरू