छरपष्ट भै छाड्यो महाराजको त्यो छुप्पेरुस्तम खेल
– राजेन्द्र स्थापित
धोलापुर भारतको राजस्थान राज्यमा पर्छ । यो शहर भारत स्वतन्त्र हुँदाको बेलासम्म महाराजाद्वारा शासित थियो । यसलाई सन् १८०६ मा जाट (शिख) राजा किरात सिंहले अधिराज्य बनाएका थिए । उनी पहिला मध्यप्रदेशको गोहाड राज्यमा राख्ने गर्थे । त्यसो त धोलापुरको पुरानो नाउँ धवलपुर हो । सन् ५०० को समयमा धोयला नागाहरूको बसोवास क्षेत्र बनेपछि यसको नाम धोलापुर रहन पुग्यो ।
सन् १९११ मा राना रामसिंहको निधन भयो । उनका कुनै सन्तान थिएनन् त्यसैले भाइ उदयभानसिंह राजा बने । त्यसबेला त्यहाँको जनसंख्या २० हजार थियो । उदयभान महाराजा निहालसिंह र उनकी जेठी रानी हरबंश कौरका माहिला पुत्र हुन् । गद्दीसीन हुँदाको बखतसम्म १८ वर्षका उनी अविवाहित थिए । राजा बनेको महिनादिनमै उनको मालबेन्दर कौरसित बिहे भयो । उनीहरूको पछि एउटी छोरी भयो ।
धोलापुरको राजधानीभन्दा ५ माइल टाढा प्राकृतिक सुन्दरताले भरिपूर्ण एउटा स्थान थियो, जहाँको ताललाई शाही ताल अथवा राजाको ताल भनिन्थ्यो । उदयभान त्यहाँ हाँसको शिकार गर्न जान्थे । ताल चारैतिरको जंगलमा चितुवालगायत जनावर पालिएको हुन्थ्यो । उदयभान मोटरबोटमा बसेर ताल घुम्थे र किनारमा आउने जनावरलाई मासु ख्वाउँथे । यो तालको वरिपरि संगमरमरको ढुंगाको खुड्किला बनाइएको थियो । राजा महाराजाहरूले आफू मात्र होइन हाँसको शिकार खेलाउन बिदेशी पाहुनालाई पनि यहाँ ल्याउने गर्थे ।
यहाँ करिब १ देखि डेढ लाखसम्म हाँस हुन्थे । तिनलाई व्यवस्थित ढंगले पालिएको हुन्थ्यो । पाहुनाको उपस्थितिमा ती हाँसलाई स–सानो ढुंगा हानेर उडाइन्थ्यो । पाहुना लाखौंको संख्यामा उडेका ती हाँसलाई देखेर रमाउँथे अनि नजिकै उडेर आएका हाँसलाई लक्ष्य गरी गोली चलाउँथे । कम्तीमा ८–१० वटा हाँस गोली लागेर भुइँमा खस्थे । दिनभरिमा यसरी ठूलो संख्यामा हाँस गोलीको शिकार हुन्थे । अनि साँझ परेपछि हाँसको मासु र बिदेशी रक्सीको खोलो बग्थ्यो । राजा महाराजा, प्रतिष्ठित व्यक्ति र पाहुनाहरू शाही तालमा रमाइलो गर्न जाँदा प्रायः आफ्ना श्रीमती र प्रेमिकाहरूलाई पनि लान्थे । हाँसको मासु र रक्सीको मातमा अनेक खालका कामुक दृष्य देख्न पाइन्थ्यो ।
महाराजा उदयभान रक्सी सेवन गर्दैनथे । तालस्थित निवासको शयनकक्षमा विशेषखालको औषधी लुकाएर राखिएको हुन्थ्यो र अरुले रक्सी खाइरहेको बेला उनी सुटुक्क कोठाभित्र छिरेर उक्त औषधी सुंघ्थे । यो बानी उनका निजी अंगरक्षक तिरनार सिंह एकजनाबाहेक कसैलाई थाहा हुन्नथ्यो । रक्सीले मातेपछि सबै जना अश्लील व्यवहार र गफ गर्न थाल्थे । तर, अरुबेला महिलादेखि टाढा बस्ने र यहाँसम्म कि आफ्नी पत्नीलाई पनि वास्ता नगर्ने उदयभान शाही तालमा जाँदा भने प्रेमिका रामप्यारीलाई लैजान कहिल्यै बिर्संदैनथे । रामप्यारी उनकी सेविका हुन् जो आगरा बस्थिन् । उदयभानले शाही तालतर्फ रवाना हुनुअघि रामप्यारीलाई खबर गर्थे । र, रामप्यारी भोलिपल्ट त्यहाँ पुग्थिन् ।
ताल रहेको स्थानबाट अलि टाढा उनको अर्को बंगला थियो । पाहुनाहरूसितको रमाइलो बसाइपछि उनी आफू एकान्तप्रिय भएको बहाना बनाएर उक्त बंगलामा सुत्न जान्थे, जहाँ रामप्यारी हुन्थिन् । यथार्थमा रामप्यारीसित समय बिताउने हेतुले नै उनी शिकार खेल्न जाने गर्थे । रामप्यारी दिनभर उक्त बंगलाको एउटा कक्षमा लुकेर बस्थिन् । कसैसित भेट्न अनुमति दिइएको हुन्नथ्यो न त बाहिर जान नै सम्भव थियो । उदयभान साधारण पहिरनमा हुने सबै सेविका, विवाहिता हुन् वा अविवाहितलाई देखेर लट्ठिन्थे । राम्री हुन् या नराम्री, बुढी हुन् वा तरुनी साधारण लुगा लगाएकी महिलालाई देखेपछि उनको कामवासना जागृत हुन्थ्यो । उनले आफूलाई नियन्त्रण गर्नै सक्दैनथे र नहुनुपर्ने घटना घट्थ्यो ।
एकपटक उदयभान पटियालाका महाराजा भूपेन्द्र सिंहको पाहुना बनेर काँडाघाट गएका थिए । त्यहाँ उनको सेवामा बागू नामक नोकर खटिएका थिए । उनकी पत्नी फगनी पनि दरवारमा दासीको काम गर्थिन् । उदयभान फगनीलाई देखेर लट्ठिए । मौकाको खोजी गर्दै गए र एकदिन एकान्तमा समात्न पुगे । दरबारमा हल्लीखल्ली मच्चियो । बल्लतल्ल भूपेन्द्र सिंहले समस्यालाई साम्य पारे । यस्तैमा उदयभान शाही तालतिरै थिए । अत्यन्त चिसो मौसम । रामप्यारी जाडोबाट बच्न कोठामै आगो बालेर बसेकी थिइन् ।
महाराजाको हुकुमबमोजिम सबै झ्याल, ढोका बन्द गरेर बसेकी थिइन् । विस्तारै धुवाँले कोठा भरिन थाल्यो । रामप्यारीलाई सास फेर्न गाह्रो भयो र एकछिनपछि बेहोस भई लडिन् । उदयभानले त्यहाँ पुगेर ढोका खोले । कोठाभरि धुवाँ थियो । उनले हत्त न पत्त रामप्यारीलाई खोजे । उनलाई त्यहीँ लडिराखेको देखे । त्यसबेलासम्म रामप्यारी र उनको सम्बन्धबारे कसैले थाहा पाएका थिएनन् । उनी कसैले थाहा नपाउन् भन्ने नै चाहन्थे । त्यसैले आफैँले रामप्यारीलाई होशमा ल्याउने भरमग्दुर प्रयास गरे । तर, जति गर्दा पनि होशमा ल्याउन नसकेपछि बाध्य भएर शाही चिकित्सकलाई ल्याउन आफ्नो गाडी पठाए, जो त्यसबेला शाहीतालमा साथीहरूसँग बसेर मदिरा पिइरहेका थिए ।
चिकित्सक गाडीबाट ओर्लन नपाउँदै शाही शानको धज्जी उडाउँदै महाराजा दौडेर गाडीको ढोका खोल्न पुगे । यस्तो पहिलो पटक भयो । चिकित्सक गाडीबाट ओर्लनेबित्तिकै महाराजाले कानमा केही कुरा भने र उनलाई रामप्यारी बेहोश भै लडिरहेको कोठामा लिएर गए । तरुनी रामप्यारीको अवस्था देखेर चिकित्सक हैरान भए ।
उनले महाराजालाई भने, ‘त्यस्तो बन्द कोठा, जहाँ हावा छिर्ने कुनै प्वालसमेत थिएन, मा युवतीलाई थुनेर राख्नु अत्यन्त अपराधपूर्ण कार्य हो ।’ त्यसमाथि धुवाँ निस्कने ठाउँसम्म नभएको कोठामा आगो बालेर बस्नु मूर्खतापूर्ण कार्य भएको उनले बताए । महाराजा उदयभानले चिकित्सकलाई ठूलो रकम दिने आश्वासन दिएर यो कुरो कसैलाई थाहा नदिन बिन्ती गरे । चिकित्सकले महाराजाको अनुनयविनयमुताबिक रामप्यारीलाई बचाउन लाख कोसिस गरे तर सकेनन् ।
यो कुरो महाराजाले लुकाउने अनेक प्रयास गरे पनि बाहिर निस्किछाड्यो । शाहीतालमा हल्लिखल्ली मच्चियो । उनको र रामप्यारीको सम्बन्धको कुरा सबैले थाहा पाए । इज्जत धूलोमा मिल्यो । चिकित्सक महाराजाका अत्यन्त विश्वासपात्र थिए तर, यो घट्नापछि उनले पनि महाराजालाई घृणा गर्न थाले । शाहीतालमा बसिरहेका सम्पूर्ण पाहुनाले महाराजालाई घृणा गर्दै एकएक गरी त्यहाँबाट निस्के । राज्यभरि महाराजा उदयभानको चरित्रको पर्दाफास भयो ।
राज्यमा असन्तोष फैलियो । उदयभानले आफू अझै चरित्रवान छु भनेर देखाउन ४ दिनसम्म ब्रत बसेर देखाए । त्यति गर्दा पनि जनता उनीबाट सन्तुष्ट नभएपछि पापको प्रायश्चित गर्न भनी हरिद्वारतर्फ लागे । त्यहाँबाट सिमला गए । त्यहाँको पहाडी इलाकामा सोलन नाउँ गरेको गाउँ थियो, त्यहाँका आध्यात्मिक गुरूसँग भेटेर क्षमायाचना गरे । पापबाट मुक्त हुन उनीमार्फत धार्मिक पूजाआजा सम्पन्न गरे।
उदयभानको मृत्यु ६१ वर्षको उमेरमा सन् १९५४ मा भयो । त्योभन्दा अघि सन् १९४९ मा धोलापुर एकीकृत भारतको अंग बनिसकेको थियो, तैपनि महाराजाको पद भने भारतीय सरकारले खारेज गरेको थिएन, त्यसैले उनीपछि उनकै नाति हेमन्तसिंह धोलापुरको महाराजा कहलिए ।
यो पनि
जर्ज बर्नाड शा महान् अंग्रेज साहित्यकार मात्र होइन, महान् साधक र विचारक पनि थिए । एक दिन उनले आफू अस्वस्थ भएको महसुस् गरे र डाक्टरलाई बोलाए । माथिसम्म भ¥याङ चढेर शाको कोठामा पुगेपछि डाक्टरले स्वाँस्वाँ गर्दै भने’ उफ, भ¥याङको खुड्किलो चढ्न पनि निकै कष्टदायक हुँदोरहेछ । मलाई त टाउको नै दुख्यो ।’
शाले डाक्टरलाई आरामदायी कुर्सीमा बसाले । अनि दराजबाट झोल औषधी निकालेर दिँदै भने, ‘यो पिउनुस् तुरुन्तै आराम हुन्छ ।’ शाले फेरि भने, ‘डाक्टरसाहेब, तपाईंको स्वास्थ्य भरेङ चढेर खराब भएको होइन, तपाईंले खाने गरेको भोजनका कारण हो । तपाईं हरियो सागपात र फलफूल खाने गर्नुस् । अनि थोरै व्यायाम पनि गर्नुस् । मेरो आयु तपाईंको भन्दा दोब्बर होला । तैपनि मेरो स्वास्थ्य ठीक छ र फूर्तिलो पनि छु ।’
युद्धमा जितेजस्तो गरेर शाले उल्टै डाक्टरसँग फिस मागे । त्यतिञ्जेल डाक्टरको स्वास्थ्य ठीक भैसकेको थियो । उनले पनि शासित फिस मागे । शाले भने, ‘लु, उपचार त तपाईंको मैले गरें नि ! फिस मलाई पो चाहियो ।’
डाक्टरले मुसुमुसु हाँस्दै जवाफ दिए, ‘मेरो उपचार गर्ने शैली नै फरक छ । म रोगीको घर पुगेर आफैँ बिरामी भइदिन्छु र रोगी आफ्नो स्वास्थ्यको अवस्था मसँग तुलना गर्न थाल्छन् । यसरी उनी आफ्नो बिरामीको कुरा बिर्सिदिन्छन् ।’ जोसितको वार्तालापमा पनि आफैँ जित्नुपर्ने शा डाक्टरको कुरो सुनेर ट्वाँ परे ।
टिप्पणीहरू