दुबईको सपना देखाएर ठग्ने गिरोह पक्राउ
संयुक्त अरब इमिरेट्स युएईको दुबईमा सुरक्षागार्डमा आकर्षक तलबको विज्ञापन गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का अनुसार त्रिनेत्र म्यानेजमेन्ट कल्सल्टेन्सिज (एलएलसी) ले आम्र्स गार्डमा पाँच सय जनाको माग आएको भन्दै ठगी गरेको हो ।
पीडितबाट साढे तीन लाखदेखि आठ लाख रुपैयाँसम्म असुल गरिएको प्रहरीको भनाइ छ । उनीहरूलाई भिजिट भिसामा दुबई पुर्याएको तर काममा नलगाई बिचल्ली बनाइएको थियो । केहीलाई भने विभिन्न संघसंस्थाको सहयोगमा नेपाल फर्काइएको प्रहरीले बताएको छ ।
सीआईबीका अनुसार हालसम्म उक्त काण्डमा ठगिएका ७६ जनाले उजुरी गरिसकेका छन् । उनीहरुबाट दुई करोड ४३ लाख ३६ हजार आठ सय १० रूपैयाँ ठगी भएको जाहेरीमा उल्लेख छ ।
सीआईबीले जाहेरीपछि पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङको राइनासका ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु जिल्लाको दुधकुण्डका ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौंको कागेश्वरीकी ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल, रुपन्देहीको देवदहका ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल र काठमाडौंको कागेश्वरीकै ४० वर्षीय सन्तोष प्याकुरेल हुन् ।
टिप्पणीहरू