श्रीमानद्वारा श्रीमतीको निर्मम हत्या
घरायसी विवादका क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचार हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको उनले बताए । ‘हिजो अपरेसनपछि पोष्टअपमा हुनुहुन्थ्यो । गएराति अचानक कार्डियाअरेष्ट भएर मृत्यु भयो’,पौडेलले भने ।
पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटनालगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।
श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ । उनको उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गकाे चार तह च्यातिएको थियो । कम्मरको हड्डी भाँच्चिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेकाे बताए । घाइतेको मृत्युअघि आरोपीविरुद्ध ज्यान मार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृत्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रिया अघि बढ्ने उनले बताए ।
उजुरी नआए पनि गीताको मृत्यु भएकाले ज्यानसम्बन्धी र बलात्कार मुद्दामा कानुनी प्रक्रिया अघि बढ्ने उनकाे भनाइ छ ।
टिप्पणीहरू