राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन - चार कार्यक्रम एकैचोटी, अरु बेग्लाबेग्लै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन - चार कार्यक्रम एकैचोटी, अरु बेग्लाबेग्लै

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मतदाताको नामावली प्रकाशन गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६ बमोजिम निर्वाचन कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजानिक गरिएको हो । 

आयोगको कार्यतालिकाअनुसार आज बिहान १० देखि ११ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रपति निर्वाचनमा भोट हाल्नेहरुको नामावली टाँसिनेछ । उक्त नामावलीउपर दावी बिरोधका लागि आज ११ बजेदेखि भोलि १२ बजेसम्मको समय तोकिएको छ । दावीविरोधको निवेदन छानविनका लागि आयोगले भोलि मध्यान्ह १२ बजेदेखि पर्सि अपराह्न ३ बजेसम्मको समय दिएको छ । त्यसपछि पर्सि ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ । 

निर्वाचन कार्यक्रमअनुसार १३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दिइएको छ भने सोही दिन उम्मेदवारको नाम प्रकाशन गरिनेछ । भोलिपल्ट १४ गते बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारीउपर दावी विरोधको सूचना दिन सकिने छ मनोनयन पत्र र उजुरी उपर छानविन गरि १५ गते साँझ ५ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक हुनेछ । 

आफ्नो उम्मेदवारी फिर्ता लिन चाहानेका लागि भोलिपल्ट १६ गते बिहान १० देखि अपराह्न ४ बजेसम्मको समय निर्धारित छ भने सोही दिन ४ देखि ५ बजेभित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । 

राष्ट्रपति निर्वाचनका लागि फागुन २५ गते मतदानको मिति तोकिएको छ । त्यसदिन बिहान १० देखि अपराह्न ३ बजेसम्म तोकिएको मतदानस्थलमा मतदान हुनेछ। 

यता, चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आँउदो फागुन २७ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने छ । कार्यतालिकाअनुसार सोही दिन उम्मेदवारको सूची प्रकाशन हुनेछ । त्यस्तै, २७ गते नै उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने २८ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले नामावली प्रकाशन गर्ने छ । उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम पनि त्यहि दिनलाई तोकिएको छ । 

चैत ३ गते तोकिएको केन्द्रमा मतदाताले उपराष्ट्रपतिका लागि मतदान गर्नुपर्नेछ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभाका सदस्य मतदाता रहने छन् । उनीहरुको छुट्टाछुट्टै मतभार तोकिएको छ ।

टिप्पणीहरू