एमालेले ‘वैतरणी’ थप्न नदिने

ललितपुरको महाँकाल गाउँपालिकामा पालिकाको नाम परिवर्तन गर्ने विषयमा विवाद देखिएको छ । असार १० गते सम्पन्न गाउँसभाले महाँकाल गाउँपालिकाको नाम महाँकाल वैतरणी राख्ने निर्णय गरेको थियो ।
उक्त निर्णय सार्वजनिक भएसँगै एमालेले विरोध जनाएको हो । यसबारे पालिका अध्यक्ष गणेशबहादुर केसीले भने, ‘हामी निर्वाचित जनप्रतिनिधिहरूमा कुनै विवाद छैन । बाहिर कसले के हल्ला गर्यो भन्ने कुराले कुनै अर्थ राख्दैन ।’ उनले धार्मिक हिसाबले नाम परिवर्तन गर्नुपर्ने मागलाई सम्बोधन गर्न गाउँसभामा प्रस्ताव आएको स्वीकार्दै भने, ‘तर अहिलेसम्म औपचारिक निर्णय भइसकेको छैन ।’
धार्मिक पर्यटकलाई ध्यानमा राखेर महाँकालमा धार्मिक शब्द ‘वैतरणी’ जोड्न खोजिएको उनको भनाइ छ । यता, एमाले महाँकाल गाउँपालिकाका इञ्चार्ज श्यामप्रसाद बजगाईँले जनआस्थासँगको कुराकानीमा आफूहरुलाई जानकारी नदिएर एक्लौटी तरिकाले निर्णय गरेकोमा आपत्ति जनाएको बताए । बजगाईँले एउटा धर्मलाई लक्षित गर्दा जातीय सद्भाव बिग्रने भन्दै उक्त निर्णय गलत भएकाले सच्चाउन माग गरेका छन् ।
बेलैमा निर्णय नसच्याए आफ्नो पार्टीले यसको विरोध गर्ने जानकारी गराउँदै बजगाईंले भने, ‘यो निर्णय आर्थिक हिसाबले पनि खर्चिलो छ । अहिलेसम्म भएका सबै कागजपत्र बदल्नुपर्छ । यसविरुद्ध पालिका अध्यक्षलाई एमालेको तर्फबाट आज दिउसो १ बजे ज्ञापन पत्र बुझाउँदैछौं ।’
टिप्पणीहरू