‘नक्कली’ कागजात, ‘सक्कली’ नागरिक

‘नक्कली’ कागजात, ‘सक्कली’ नागरिक

चिनियाँ मूलका नागरिकसहित विभिन्न मुलुकका व्यक्तिहरुलाई सुन तस्करी अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लाबाट कर्मचारीहरुको संलग्नतामा बिक्री भएका नागरिकताबारे छानबिन अझै सकिएको छैन । करिब ४ सय बढी नागरिकता बिक्री भएको प्रारम्भिक अनुसन्धान छ । कर्मचारीहरु पटक–पटक जेल बस्ने क्रम जारी छ तर सुब्बा हुँदा नागरिकता बिक्रीको हैसियत बनाउँदै अकुत कमाएका अधिकृतविरुद्ध छानबिन नै भएको छैन । नागरिकतामा हस्ताक्षर गर्ने एक जना अधिकृत भने एक वर्षमा तीन पटक जेल बसेर धरौटीमा छुटेका छन् । 

यसैबीच जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले नमोबुद्ध नगरपालिका ११ बस्ने २४ वर्षीया अनिशा लामाले झुट्टा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा मुद्दा लागेको छ । २०७९ माघ १५ गते नमोबुद्ध नगरपालिका वडा नम्बर ११ को कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाएकी थिइन् । बाबुको नाम फरक परेको भन्दै नयाँ जन्मदर्ता बनाएर अर्काे नामबाट नागरिकता लिन लागेपछि अनिशाविरुद्ध मुद्दा दायर गरिएको हो । वडा अध्यक्ष बृष्णबहादुर तामाङ, वडा सचिव शंकरप्रसाद भट्टराई लगायतले उनले झुटो विवरण पेश गरेको जानकारी नभएको बयान दिएका छन् ।

त्यस्तै बनेपा नगरपालिका वडा नम्बर १४ साँगा बस्ने ३७ वर्षीया सविता मगर र ४५ वर्षीय विष्णुप्रकाश थापा मगरले झुट्टा विवरण पेश गरी नागरिकता लिएको अभियोगमा प्रशासनले सरकारी वकिल कार्यालयमार्फत अदालतमा दर्ता गरेको छ । सविताले काठमाडौं जिल्लाबाट पहिलो नागरिकता लिएकी थिइन् भने दोश्रो नागरिकता काभ्रे जिल्ला प्रशासन कार्यालयबाट लिएकी हुन् । २०५९ सालमा उनीहरुले दोहोरो नागरिकता बनाएका थिए । अहिले परिचयपत्र खिच्ने क्रममा उक्त कुरा खुलासा भएको हो । दिनदिनै नागरिकता लिने क्रममा झुट्टा विवरण पेश गर्ने क्रम बढेको छ । अर्काेतिर प्रविधिमैत्री प्रशासन हुन लागेपछि पहिले–पहिले कीर्ते गरेको समेत अहिले खुल्न थालेको छ । 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू