सभामुखमाथि थरै ढाँटेर सम्पत्ति हत्याएको मुध्दा

सभामुखमाथि थरै ढाँटेर सम्पत्ति हत्याएको मुध्दा

सरकारी कागजात किर्तेलाई कानुनले गम्भीर अपराधका रुपमा लिएको छ । मुलुकी फौजदारी संहिताले सरकारी कागजपत्रहरुमा किर्ते भएको प्रमाणसहित जुनसुकै बेला जो सुकैले पनि सरोकारवाला निकायमा जाहेरी दिनसक्ने कानुनी व्यवस्था गरेको छ । तर, कानुन निर्माणको मूल थलो बाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठविरुध्द दर्ता सरकारी कागजात किर्तेसम्बन्धी जाहेरी प्रहरीले डेढ वर्षसम्म त्यसै थन्क्याएर राखेको तथ्य खुलासा भएको छ ।

२०७७ साल पुस २८ गते चन्द्रागिरी नगरपालिका-९ की ७७ वर्षीया मनमाया श्रेष्ठले सरकारी कागजात किर्ते गरी आफ्ना हजुरबुबा ससुरा सानु लवटको नाममा रहेको जग्गा हडपेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा सानु श्रेष्ठविरुध्द जाहेरी दिएकी थिइन् । जाहेरीमा श्रेष्ठले साविकको मच्छेगाउँ गाविस र मालपोत कार्यालय कलंकीबाट आफू नै लवट श्रेष्ठ भएको किर्ते डकुमेन्ट खडा गरी ३ रोपनी १४ आना जग्गा आफ्नो नाममा गरेको दावी गरिएको छ । तर, पद र राजनीतिक पहुँचका कारण सरकारी कागजात किर्ते गरेको गम्भीर आरोप लागेको यो प्रकरणमा डेढ वर्षसम्म पनि अनुसन्धान हुन सकेको छैन ।

जाहेरीकर्ताको दावीअनुसार श्रेष्ठले काठमाडौँ जिल्ला विकास सभापति भएका बेला अनेक प्रपन्च रचेर आफू नै स्वर्गीय सानु लवट भएको झूठा विवरण जुटाई २०५२ फागुन ३ गते त्यतिबेलाको मच्छेगाउँ गाविसबाट किर्ते सिफारिस लिई त्यसैका आधारमा मालपोत कार्यालय कलंकीबाट करोडौँ मूल्य पर्ने उक्त जग्गा हत्याएका हुन् ।

शुरुमा टेकु प्रहरीले मनमायाको जाहेरी लिनै नमानेपछि पीडित पक्षले हुलाकबाट जाहेरी पठाएको थियो । तर, उक्त जाहेरी पनि दर्ता नभएपछि मनमायाले पुरक निवेदनसहित राष्ट्रिय सतर्कता केन्द्र,प्रधानमन्त्री कार्यालयलगायतका अन्य सरोकारवाला निकायहरुमा पनि हुलाकबाट निवेदनको कपी पठाइन् । सतर्कता केन्द्रको दबाबपछि जाहेरी दर्तासम्म गरेको प्रहरीले सानु श्रेष्ठलाई खोज्न भने अहिलेसम्म पनि आलटाल गर्दै आएको पीडित पक्षको आरोप छ ।

प्रहरीले अनेक बहानामा बर्ष दिन कटाएपछि महानगरीय प्रहरी परिसर टेकुलाई समेत विपक्षी बनाएर मनमाया अदालत गइन् । २०७८ साउन १७ गते उनले उच्च अदालत ललितपुरमा दायर गरेको रिटमा काठमाडौँको साविक मच्छेगाउँ गाविस-८/ङ र ८/ज का क्रमश: कित्ता नम्बर ९५, ९७, ६२, ७५, १४३, १८८, १८९, १९४, १९५ समेतको जग्गा सानु श्रेष्ठले किर्ते कागजात बनाएर जालसाजीपूर्ण ढंगले आफ्नो नाममा लगेको जिकिर गरिएको छ । २०२३ सालमै सानु लवटको नाममा दर्ता भै श्रेस्ता कायम भएको र उनकै नाममा पुर्जासमेत प्राप्त भएको पैत्रिक सम्पत्ति हडप्न सानु श्रेष्ठले ‘सानु लवट मै हुँ’ भनी जालसाजी गरी प्रपन्च मिलाएर दर्ता श्रेस्तामा साविकमा ‘सानु ‘ लेखिएको शब्दको पछि ‘भन्ने सानुकुमार श्रेष्ठ’ थपेर किर्ते गरेको दावी गरिएको छ ।

रिटमा महानगरीय प्रहरी परिसर टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौँ,चन्द्रागिरी नगरपालिकाको कार्यालय, वडा नम्बर ९ कार्यालय, कलंकी मालपोत कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौँ सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर रिट त हालिन् तर,अदालतले मुध्दा दर्ता भैसकेका कारण परमादेश दिन अस्वीकार गर्दै २०७८ साल असोज ४ गते १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गर्यो ।

यता, सभामुख श्रेष्ठले भने आफूमाथिको आरोप पूर्णत: आधारहीन र कपोलकपित भएकाले रिट खारेज गर्न माग गरेका छन् । वारेसमार्फत अदालतलाई बुझाएको लिखित जवाफमा किर्तेको आरोप अस्वीकार गरेका उनले आफू सानु लवट नै भएको दावी गरेका छन् । ‘सर्वप्रथम त यी विपक्षीले विवाद उठाएको जग्गाहरु म सानु लवट भन्ने सानुकुमार श्रेष्ठको दर्ता श्रेस्ता कायम भएको जग्गा हो’, उनले अदालतलाई भनेका छन् ।

यद्यपि पुर्जामा तीनपुस्ते तथा फोटो टाँससम्म भएको तर जग्गाको स्वामित्वको हकमा भने कुनै निर्णय नभएको श्रेष्ठको भनाइ छ । उक्त जग्गामा आफ्ना बाबु चिरिबाबु श्रेष्ठ मोही उल्लेख भएको र आफू र आफ्नो भाइले अहिलेसम्म भोग चलन गरी घरसमेत बनाएर बसोबास गरिरहेकाले त्यतिबेला उजुरी नगरेकोले अब सो दर्तामा कुनै परिवर्तन गर्न नमिल्ने सर्वोच्च अदालतको नजिर रहेको पनि उनले आफ्नो लिखित जवाफमा उल्लेख गरेका छन् । उनले सानु लवट भन्ने नामै नभएको र उक्त व्यक्तिको नाम मानबहादुर श्रेष्ठ रहेको समेत दावी गरेका छन् ।

तर, सानु लवट भन्ने कुनै नाम नै नभएको भन्ने उनको दावी मालपोत कार्यालय कलंकीले भने खण्डन गरेको छ । मालपोत कार्यालयले अदालतमा पेश गरेको लिखित जवाफमा विवादित जग्गाहरु २०२३ सालको शुरु नापी गोश्वाराबाट सानु लवटका नाममा दर्ता प्रमाणित रहेको र २०५२ फागुन ३ गतेको निर्णयले सानु लवट भन्ने सानुकुमार श्रेष्ठको नाममा कायम गरिएको प्रष्ट भनेको छ ।

सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जवाफ दिएको महानगरीय परिसर टेकुले अनुसन्धानको अवस्था र श्रेष्ठ पक्राउ नपर्नुका कारणबारे भने केही बताएको छैन ।

टिप्पणीहरू