बहुदलपछि सांसद भएर कसले के गरे ?

बहुदलपछि सांसद भएर कसले के गरे ?

काभ्रेपलाञ्चोक जिल्लाबाट बहुदलपछि ३५ जना सांसद बने । ती निर्वाचित, मनोनीत र समानुपातिक सूचीबाट प्रतिनिधिसभा, संविधानसभा र प्रदेशसभामा परेका हुन् । सांसद भएकामध्ये गोकुल बाँस्कोटा मात्रै शक्तिशाली मन्त्री बन्न सके । यसअघि केशव बडाल र राजेन्द्र खरेल पनि मन्त्री भएका थिए । गोविन्दनाथ उप्रेती, सूर्यमान दोङ, कञ्चनचन्द्र बादे र रेशम लामा राज्यमन्त्री बन्दा चन्द्र लामा, बसुन्धरा हुमागाईं र रत्न ढकालले प्रदेशमन्त्री भेट्टाए ।

बाँस्कोटाले सुनकोशी ड्याम, मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, सुरक्षण मुद्रण प्रेस, फिल्म सिटी, सडक, विद्यालय, स्वास्थ्य, खानेपानी, करिडोरलगायतका परियोजना शुरु गरेका छन् । प्रदेश सभामा एमालेबाट निर्वाचित चन्द्र लामा थोरै समय मन्त्री बने । उनी मन्त्री हुँदा शुरु गरेका कामको निरन्तरता भए पनि अर्काे सरकार गठन भएलगत्तै ती काटिएका छन् ।

गंगाबहादुर दोङ, नविना लामा, गोमा भुर्तेल र लक्ष्मण लम्साल मन्त्री बन्न पाएनन् । संविधान सभा २०७० मा निर्वाचित कञ्चनचन्द्र बादेले उद्योग राज्यमन्त्रीसम्म भेट्टाए । २०७४ मा उठेर पराजय भए । अहिले फेरि प्रदेशसभामा प्रस्तावित छन् । राप्रपा नेपालबाट समानुपातिक सांसद भएका रेशम लामा केही समय राज्यमन्त्री बने । अहिले एमाले प्रवेश गरेका छन् ।

२०६४ सालमा माओवादीबाट निर्वाचित सूर्यमान दोङ ऊर्जा राज्यमन्त्री र २०७० मा पराजित भए । २०७४ मा टिकट पाएनन् । २०६४ मा समानुपातिकबाट सांसद भएकी रेणुका चौलागाईं १५ वर्षपछि माओवादीबाट चौरी देउराली गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

२०५६ सालमा नेपाली कांग्रेसबाट निर्वाचित राजेन्द्र खरेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा थिए । त्यसपछि सक्रिय राजनीतिबाट ओझेल पर्दै गएका उनले महेश खरेललाई पार्टी राजनीतिमा सक्रिय बनाए । महेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को सभापति तथा पाँचखाल नगरपालिकाको २०७४ सालदेखि निरन्तर प्रमुख छन् । खरेलले शिक्षामन्त्री हुँदा नियुक्ति गरेका दर्जनौँ शिक्षक अहिले पनि कांग्रेसको पार्टी राजनीतिमा सक्रिय छन् । राजेन्द्र खरेल अस्वस्थ छन् ।

०५१ सालमा निर्वाचित केशव बडालले उद्योगमन्त्री हुँदा युवालाई विदेश पलायनबाट रोक्न स्वदेशमै गोलभेडा खेती गर्ने घोषणा गरेकै कारण गोलभेडा मन्त्री भन्दै २०५६ सालमा पराजित भए । उनी २०४८ सालमा पनि सांसद थिए । २०६४ सालमा पराजित भए । २०७० सालमा उनी नेपाल सरकारको कोटाबाट मनोनीत सांसद भए । २०४८, २०५१ र २०५६ सालमा लगातार सांसद जितेका शिवबहादुर देउजा अहिले नेकपा समाजवादीमा छन् ।

२०४८ र २०५१ मा नेकपा एमालेबाट निर्वाचित गोविन्दनाथ उप्रेती श्रम राज्यमन्त्री बने तर एमालेमा टिकिरहन सकेनन् । नेकपा माओवादीमा सांसद बन्न प्रवेश गरेका उप्रेतीलाई माओवादीले २०६४, २०७०, २०७४ कुनै निर्वाचनमा पनि अवसर दिएन । अहिले अस्वस्थ छन् । २०४८ सालमा निर्वाचित कमानसिं लामा राजदूत बने । कोभिड १९ का कारण उनको निधन भएको छ । पञ्चायतकालमा शैलेन्द्र उपाध्याय राज्यमन्त्री थिए ।

टिप्पणीहरू