रविसँगको विछोडले मुकुल ढकाल मर्माहत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका मुकुल ढकालले दोहोर्याउँदै आएको एउटा बिम्ब हो, ‘रवि लामिछाने क्लब’ । सभापति रवि लामिछानेको आलोचना गरेकै कारण पार्टीबाट निष्कासनमा परेका उनको उक्त अभिव्यक्ति आलोचनामा पनि पर्यो ।
ढकालले सहकारी ठगी प्रकरणमा सभापति लामिछाने पूर्पक्षको लागि थुनामा जाने ठोकुवा पनि गर्दै आएका छन् । उनकै भाषामा लामिछाने र उनको क्लबका सदस्यविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका उनै ढकालमा पछिल्लो समय भने केही परिवर्तन देखा पर्न थालेको छ ।
केहि दिनअघि कोशी र मधेस प्रदेशका दुई सभापतिले कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेर ‘ढकाललाई पार्टी फर्काउनुपर्ने’ प्रस्ताव राखेको खबर बाहिर आएको थियो । यद्यपि, त्यसमा गणेश कार्कीलगायत कतिपय केन्द्रीय नेताहरुले सार्वजनिकरुपमै असहमति जनाएका छन् ।
रास्वपामा पुनरागमनको चर्चा चलिरहँदा ढकाल पनि लचिलो बन्दै गएकाे उनका पछिल्ला अभिव्यक्तिहरुमा देखिन्छ । हिजो साँझ समाजिक सञ्जाल फेसबुकमा उनले एकजुट भएर पार्टी बचाउनुपर्ने भन्दै लामो भावना पोखेका छन् । ‘आज केही कुरा गरौँ’ भन्दै शुरु गरेको स्टाटसमा ‘रास्वापाबाट महामन्त्रीलाई अलग बनाएपछि सभापति कमजोर हुन्छ’ भन्ने बुझेकाहरुले आफूमाथि प्रहार गरेको दावी गरिएको छ ।
‘मैले बुझाउने प्रयास गरेँ, म असफल रहेँ । मलाई कारवाहि गरे, अनि सभापतिमाथि नै प्रहार गरे’, ढकालले लेखेका छन्, ‘पार्टीलाई उग्र दक्षिपन्थी अवसरवादी विदेशी दलालहरूकाे कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको छ ।’
उनले पार्टीभित्र चलिरहेको आफ्नो चर्चाबारे पनि टिप्पणी गरेका छन् । विस्तारै आफूलाई पत्याउनेहरुको संख्या बढेको उल्लेख गर्दै थपेका छन्, ‘अलि-अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ, तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुन्जेल धेरै ढिलो भइसकेको नहोस् ।’
अब रास्वापालाई एकजुट भएर जोगाउनुपर्ने उनको जोड छ । पार्टी निर्माणका लागि बुद्धि, पसिना, पैसा र समय खर्चेको स्मरण गर्दै लेखेका छन्, ‘साना दु:खले आर्जेको पार्टी होइन, जोगाऔँ । फुटेर होइन, जुटेर । यदि अदालतले निर्दोष भने माफी मागौँला, नभने ? खैर, सबै बिर्सौँ तर सङ्कटको यो घडीमा पार्टी जोगाऔँ ।’
ढकालले आफूलाई सभापति लामिछानेको दुश्मन ठान्नेहरुलाई पनि सम्बोधन गरेका छन् । अघि भन्छन्, ‘रवि दाइका मित्रहरू, शुभचिन्तकहरूलाई म दुश्मन देखिएको छु होला, तर म त लामो समय बाहिर छु, भित्र भित्रै आक्रमण गरेर सकाउनेलाई कसो देख्न सक्नु भएन । प्रमाण के भन्नु होला । यो राजनीती हो , यहाँ प्रमाण अदृष्य हुन्छ ।’
उनले लामिछानेसँगका पुराना कुराकानीका सन्दर्भ पनि सञ्जालबाटै सुनाएका छन् । ‘रवि दाइ आफैँ भन्नुहुन्थ्यो- जस्तो परिस्थिति आए पनि मुकुल, तिमी र म एक गुट है ।’
यस्तो छ मुकुलको स्टाटस :
आज केहि कुरा गरौँ ......
अलि अलि तलमाथि हुँदै सबै कुरा राम्रै जाँदै थियो । रवि दाइ र मबीच पार्टी छलफल हुँदै कुरा हुन्थ्यो, "भोलिका दिनमा पार्टी ठूलो हुन्छ, फरक फरक मान्छे आउँछन् , राजनीतिबाट जोगिएर जानपर्छ" र रवि दाइ आफैँ भन्नु हुन्थ्यो, "जस्तो परिस्थिति आए पनि, मुकुल, तिमी र म एक गुट है ।"
परिस्थितिहरू आए । पार्टी बाहिरबाट खेले । पार्टी भित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने , तर त्यतिबेलासम्म उहाँ उहाँलाई पूर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो । मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन । उल्टै मलाई कारवाहि गर्नु भयो । अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिकरूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे । आखिर मान्छे हुँ, भगवान थोडिन हुँ र । हामीबीचको सम्बन्धमा भित्र बाहिरकाले खेलेको राजनीति समयमा बुझ्न नसक्नु वा भनौँ बुझाउन नसक्नु हाम्रो गल्ती पक्कै हो । सम्बन्ध त दुइतर्फी हुन्छ, गल्ती ममा मात्र थुपारियो । गल्ती त सायद दुवैको हुनपर्छ नि । अलिकति गल्ती मेरो होला, अलिकति गल्ती उहाँको होला र अलिकति नजर लाग्यो होला पापी दुनियाँको ।
सभापतिलाई महामन्त्रीबाट अलग गराएपछी सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरे , म असफल रहेँ । मलाई कारवाहि गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टीलाई उग्र दक्षिणपन्थि अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको छ । मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन् , अब जब कुराहरू पूरा हुँदै छ, अलि अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुनजेल धेरै ढिलो भइसकेको नहोस् ।
राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउन पर्छ । हामीले बगाएको बुद्धि, पसिना, पैसा र समयले बनाएको पार्टी हो । साना दु:खले आर्जेको पार्टी होइन, जोगाऔँ । फुटेर होइन, जुटेर । यदि अदालतले निर्दोष भने माफी मागौँला, नभने ? खैर, सबै बिर्सौँ तर सङ्कटको यो घडीमा पार्टी जोगाऔँ । जोगाउने मात्र होइन, ८४ सम्म भरोसा युक्त शक्तिकोरूपमा स्थापित गरेर, मिसन ८४ लाई सफल बनाऔँ ।
अब पनि राजनीति नबुझ्ने हो भने , निषेधकै राजनीतिमा अघि बढ्ने हो भने , प्रचण्ड, देउवा र ओलिसँग मिल्न सक्ने मुकुलसँग मिल्न सकिन्न जस्ता तर्क दिँदै जाने हो भने , के भन्न सकिन्छ र ? राजनीति फरक चिज हो । यो कसरी बुझाउने । रवि दाइका मित्रहरू, शुभचिन्तकहरूलाई म दुश्मन देखिएको छु होला, तर म त लामो समय बाहिर छु, भित्र भित्रै आक्रमण गरेर सकाउनेलाई कसो देख्न सक्नु भएन । प्रमाण के भन्नु होला । यो राजनीती हो , यहाँ प्रमाण अदृष्य हुन्छ । देशमा विदेशी हस्तक्षेप हुन्छ कि हुन्न भन्दा , प्रमाण त के पाइएला । राजनीतिको खेल नबुझ्ने हो भने, ८४ को खेल कुनै हालतमा जितिन्न ।
टिप्पणीहरू