रामचन्द्र पौडेल असाध्यै नृशंस र हिंस्रक मान्छे : केपी ओली
तनहुँको व्यास नगरपालिकामा स्वतन्त्रबाट तालमेलमा मेयरको उम्मेदवार बनेका दीपकराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो फोन गर्नुभएको छ ।
तनहुँको रिस्तीमा स्थानीय तह निर्वाचनका दिन आक्रमणमा परी घाइते भएका जोशी अहिले काठमाडौंको एउटा निजी अस्पतालमा उपचाररत छन् । उनै जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले फोन संवाद गर्नुभएको हो ।
आफूलाई वैशाख ३० गते नेपाली काँग्रेसका कार्यकर्ताले चुटेको दिपकको भनाइ छ । स्वतन्त्र उम्मेदवारमा उठेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीका छोरालाई एमालेले समर्थन गरेको छ ।
फोन सम्वादको प्रारम्भमा ओलीले ‘हेलो’ भन्ने बित्तिक्कै जोशीले ‘बुबा’ भनेर सम्बोधन गरेका छन् । एमाले कार्यकर्ताले ‘बा’ भने पनि जोशीले टेलिफोनमा ओलीलाई बुबा भनेका हुन् ।
फोन सम्वाद :
ओली : कस्तो छ अहिले ?
जोशी : ठीकै छ । टाउकोमा ब्याण्डेज गरिएको छ । टेष्टको रिजल्टमा थोरै एब्नर्मल देखिएकाले घरै गएर पनि रेष्ट गर्न सकिन्छ भनेका छन् डाक्टरहरुले ।
ओली : रिपोर्ट राम्रै आउँछ । किनभने यदि इन्टरनल इन्जुरी भएको भए,भोमिटिङ हुन्थ्यो । टाउको दुख्ने हतपत कम हुँदैनथ्यो । त्यसलाई पेनकिलर खानुपर्ने अवस्था हुन्थ्यो । अब टाँका लगाउनुपर्यो । काटेको घाउलाई अब त्यो गर्नै पर्यो । निको हुन्छ ।
जोशी : के गर्ने बुबा,अब हाम्रो बुबा र हजुरहरुले ल्याउनुभएको प्रजातन्त्रले हाम्रै रक्षा गर्दैन । दिनदहाडै मान्छे मार्न खोज्छन् ।
ओली : बम हानिराखेका छन् । खुकुरी हानिरहेका छन् ।
जोशी : हामी त्यत्रो वर्ष बाहिर बसेका । यहिँ केही गर्न पर्छ भनेर विदेश छाडेर आएको । हामीलाई स्वतन्त्रमा लड्दैमा यस्तो..
ओली : अहिले नेकपा एमाले मात्रैले शान्तिपूर्ण तरिकाले प्रतिस्पर्धा गरौं भनेको छ । प्रतिस्पर्धा हामीले रोजेको प्रणाली हो । तर काटमार खोजेको होइन । चुनाव गर्नै नसकिने भयो । कसलाई चुनाव प्रचारमा हिँड भन्ने ? मैले हिँड भनेको मान्छेलाई बाटैमा काट्छन् ।
जोशी : जीउधनकै सुरक्षा नहुने भएपछि । यस्तो प्रणाली..
ओली : प्रणाली होइन । प्रणालीको वकालत गर्ने तर प्रणाली खत्तम पार्ने । रामचन्द्र पौडेल खाने बेलामा त्यो शाकाहारी नै होला । तर मान्छे चाहिँ असाध्यै नृशंस र हिँस्रक मान्छे हो क्या !
जोशी : यिनीहरु के भने नि बुबा,बिपीपथबाट प्रचण्डपथमा गएपछि सकियो ।
ओली : प्रचण्डपथमा गएपछि..
जोशी : हजुरले फोन गर्नुभयो,खुशी लाग्यो । हजुरको स्वास्थ्यको ख्याल गर्नुहोस् । हजुर त अहिलेसम्म लडिरहनुभएको छ भने हामी त लडिहाल्छौं ।
ओली : मैले हिजो अस्ति नै स्वास्थ्य ठीक नभएकाले जँचाएर आएँ । बाबुलाई शीघ्र स्वास्थ्यलाभ होस् ।
जोशी : शंकर पोखरेलहरु आउनुभएको थियो । हजुरलाई धन्यवाद ।
ओली : मिल्यो भने त म आउन पनि सक्छु । हिजो अस्पताल गएको थिएँ । आउँ कि भन्ने लागेको थियो । तर रिपोर्ट लिइरहेको छु,साथीहरुले रिपोर्ट दिइरहनुभएको छ ।
टिप्पणीहरू