बराहक्षेत्रमा विदेशी माछा प्रतिवन्ध
सुनसरीको बराहक्षेत्र नगरपालिकाले भारतलगायत अन्य मुलुकबाट आयात गरिएको माछा बिक्री गर्न पूर्ण रोक लगाएको छ ।
नगर क्षेत्रभित्र लाग्ने हाटबजारमा आयातित मरेको माछा बेचेको पाइएपछि नगरपालिकाले त्यस्ता माछा किनबेचमा निषेध गरेको हो । हाटबजारमा मरेको माछा बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाँड गरेको भनि स्थानीयले गुनासो गरेपछि गत पुस १ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवालले बताए ।
निर्णय कार्यान्वयन गर्न नगरपालिकाले नियमित बजार अनुगमन गर्ने र त्यस्तो माछा बिक्री गरेको पाइएमा ढक, तराजु, फ्रिज र ढुवानीको साधन खोसिने उनले जानकारी दिए । त्यसैगरी, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम दण्ड जरिवाना तिराइने चेतावनीसमेत दिइएको छ ।
टिप्पणीहरू