टियुको जग्गा खोजविन समितिको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभूवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रतिवेदन बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो । सभापति अम्मरबहादुर थापाले त्रिभूवन विश्वविद्यालयको प्रतिवेदन सार्वजनिक हुनुपर्ने र त्यसअघि समितिले जानकारी पाउनुपर्ने बताए ।
प्रतिवेदनमा केही कमजोरी भए समितिले अध्ययन गर्ने जनाउँदै उनले भने, ‘त्रिभूवन विश्वविद्यालयको प्रतिवेदन सार्वजनिक हुनुपर्छ । समितिबाट निर्देशन भएकाले सार्वजनिक गर्नुपूर्व समितिले जानकारी पाउनुपर्छ । त्यसपछि केही अपुग छ भनेपनि समितिले के कुराको अपुग छ, अध्यन गर्छौं, त्यसपछि सार्वजनिक गर्न मन्त्रालय अघि बढोस् ।’
सभापति थापाले विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्ने हो भने सरकारले लगानी गर्नुनपर्ने पनि बताए ।
'अहिले पनि त्रिभूवन विश्वविद्यालयको सम्पत्तिलाई संरक्षण गर्ने हो भने त्रिभूवन विश्वविद्यालयलाई सरकारले लगानी गर्नुपर्दैन । बरु सरकारले केही माग्यो भने त्यहाँबाट दिनसक्ने अवस्था छ', उनले भने, 'उहिले अदालतले आदेश गर्छ, त्यो सम्पत्ति आफ्नो हो भन्नेकुरै बनाउँदैन । यस्ता विषयमा सरकार एक्शनमा जानुपर्छ । राज्यको आम्दानीको श्रोत बनाउने र खर्च गर्ने विधि अवलम्वन गर्नुपर्छ ।'
त्रिविको जग्गा तथा सम्पत्ति खोजविन गर्न सरकारले समिति गठन गरेको थियो । समितिले करिब ६ महिला लगाएर तयार पारेको बिस्तृत प्रतिवेदन हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।
टिप्पणीहरू