उत्तरगयाको लोगो बनाउनेलाई ५० हजार पुरस्कार

उत्तरगयाको लोगो बनाउनेलाई ५० हजार पुरस्कार

रसुवाको उत्तरगया गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) बनाउनेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै पालिकाको विशिष्टता झल्किने लोगो बनाउनेलाई पुरस्कृत गर्ने जानकारी दिएको हो । 

‘गाउँपालिकाद्धारा उत्कृष्ट लोगो डिजाइन गर्ने व्यक्ति वा संस्थालाई नगद रु ५०,००० (करसहित) बाट पुरस्कृत गरिनेछ,’ सूचनामा उल्लेख छ ।

लोगोमा नेपालको राष्ट्रिय झण्डा र पालिकाको नक्सा अनिवार्य हुनुपर्छ । त्यस्तै, पालिकाको सामाजिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रलगायत विशिष्टता झल्किने विषय समावेश हुनुपर्ने तथा कुनै पनि खालको विभेद जनिने तथा सार्वजनिक शिष्टचार प्रतिकूल हुनु हुदैँन । 

लोगोमा प्रयोग हुने संकेत तथा चिन्हहरु संक्षिप्त, स्पष्ट र आकर्षक हुनुका साथै त्यसको व्याख्या समेत पेश गर्नुपर्ने पालिकाले जनाएको छ । मौलिक एवं अन्यत्रबाट नक्कल नगरिएको, बहुरंगको छपाई गरी प्रयोगमाल्याउन सकिने हुनुपर्छ । 

सूचनामा लोगोको स्वीकृतिसम्बन्धी सम्पूर्ण अधिकार गाउँपालिकामा निहित हुने र डिजाइनकर्ताले अन्यत्र प्रयोग गर्न नपाउने पनि उल्लेख छ । गाउँपालिकाले इच्छुक व्यक्ति तथा संस्थालाई आगामी १५ दिनभित्र लोगो निर्माण गरी पालिकाको इमेल ठेगाना वा कार्यालयमा उपस्थित भई पेश गर्न आग्रह गरेको छ । 

तोकिएको मितिभित्र आवश्यक कागजातसहित रितपूर्वक दर्ता हुन आएका लोगोहरु मूल्याङ्कन गरी उत्कृष्ट लोगो छनौट गरिने पालिकाले जनाएको छ ।

टिप्पणीहरू