देवत्वकरण
केही दिन भयो, काठमाडौँ शहर बडो मगमग बासना आइरहेको छ । जहाँ गए पनि कस्तो आनन्दको सुगन्ध । यो बासना सुँघेर म चकित भएको छु । पहिला त यस्तो भएको थिएन ।
अचेल के भएको हो कुन्नि ! पूरा शहर नै यस्तो वासनामय हुनु निश्चय पनि अनौठो कुरा हो । तर, अनौठो नै भनौं, भइरहेको छ । जता सुँघ्यो त्यतै मगमग । काठमाडौँ महानगर यस्तो सुगन्धमय शहर त थिएन ।
यतिविधि मगमग बासना यहाँ पहिले त कहिल्यै आएको थिएन । अहिले आएको आयै छ । यदि तनहुँबाट भानुभक्त आउनुभएको भए अर्कै कविता लेख्नुहुुन्थ्यो होला –
आहा ! कान्तिपुरी नगरी हावा बहन्छ मन्द मन्द
स्वासै पिच्छे नाकमा छिर्छ आनन्दको सुगन्ध ।
काठमाडौँको यो सुगन्धले यतिबेला हामी त मोहित छौं भने भानुभक्त नहुने कुरै भएन । आखिर काठमाडौँमा यति मजाको सुगन्ध आयो कहाँबाट ? म त्यसको कारण जान्न चाहन्थेँ । त्यसैले घुम्न गएँ काठमाडौँको सडकै सडक ।
ओहो, काठमाडौँको पूरा सडकै फोहोरले भरिएको रहेछ । जता गयो त्यतै फोहोर । कतै त फोहोरको डंगुरै पनि । डंगुर होइन सानोतिनो पहाडै भन्दा पनि हुन्छ । वास्तवमा मन्द मन्द सुगन्ध त्यहाँबाट आइरहेको रहेछ । आहा ! क्या राम्रो सुगन्ध । सुँघु सुँघु लाग्ने ।
(पाठकवृन्द, यतिबेला काठमाडौँको अवस्था अनुभव गर्नुभएकै होला । तर जे अनुभव भएको हो त्यो यहाँ लेख्न मिल्दैन । जे मिल्छ त्यही लेखिएको हो । धन्यवाद । )
टिप्पणीहरू