अपहरणको नाटक गरेर परिवारसँग लाखौँ फिरौती माग्ने कृष्ण प्रहरी खोरमा
अपहरणको नाटक गरि आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक युवक समातिएका छन् । सप्तरी राजगढ गाउँपालिका ३ घर भएका ३१ वर्षीय कृष्णकुमार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ललितपुर इमाडोल डेरा गरी बस्ने शर्मा घरमा आईएमईबाट रकम पठाउन भन्दै गत बुधबार डेरा कोठाबाट निस्केका थिए । मोबाइल स्वीच अफ गरेर परिवारबाट सम्पर्कविहीन भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा विराटनगरमा अस्ति पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले इमोबाट आफू अपहरणमा परेको भन्दै धम्कीपूर्ण म्यासेज र अपहरणमा परेको भिडियो पठाएर परिवारलाई डरत्रासमा पारेका थिए । घरपरिवारले २० लाख रुपैयाँ नदिए कृष्णको ज्यान समेत जान सक्ने उनले आफैँ बताएको पुष्टी भएको छ ।
तर, परिवारका सदस्यले कृष्ण हराएको भन्दै प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिए । सोही निवेदनका आधारमा प्रहरीले खोज्दा फिरौती माग्ने व्यक्ति अरु नभई शर्मा आफैं भएको पुष्टी हुन आएको हो ।
उनलाई सार्वजनिक उपद्रयाईं गर्न नहुने कसूरअन्तर्गत कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
टिप्पणीहरू