ठगहरुबाट जोगिन प्रहरीले गर्यो आग्रह
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगहरुबाट जोगिन पुनः आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगेको घटना व्याप्त भएपछि ब्यूरोले सतर्क रहन आग्रह गरेको हो ।
अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टिकोण जग्गा फिर्ता नदिई उठीबास गराउने काम बढेको ब्यूरोको भनाइ छ । वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालमार्फत ठग्ने पाइएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाइदिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा समाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवम् झूठा श्रव्यदृष्य सामग्रीसमेत पठाई भ्रममा पारेर ठगेको उजुरी पर्न थालेको छ ।
नेपालमा क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्किङ आदिबाट धेरै गुणा प्रतिफल दिने भनी प्रलोभनमा पारी ठगी गर्ने कार्यसमेत देखिएको जनाउँदै ब्यूरोले यस्ता अवाञ्छित कार्यका सम्बन्धमा सचेतना बढाई सजगता अपनाउन र ठगीबाट बच्न अनुरोध गरेको छ ।
टिप्पणीहरू