चिनियाँ लामाको घनचक्कर
विभिन्न कालखण्डमा चीनका विभिन्न भूभागबाट काठमाडौंको बौद्धमा बसोबास गर्न आएका बासिन्दाहरुको एउटा संस्था छ, बौद्ध घ्याङ गुठी र त्यसलाई मूलीका रुपमा रेखदेख गर्न सरकारले अधिकारप्राप्त एकजना ‘चिनियाँ लामा’ तोक्ने गरेको छ । अहिले यसैको नियुक्तिमा विभिन्न किसिमका विवाद उत्पन्न भएका छन् ।
नेपालमा बसोबास गर्न आउने चिनियाँमध्ये धेरैजसो चीनको स्वशासित क्षेत्र तिब्बतका छन् । दलाई लामा नेतृत्वमा स्वतन्त्र तिब्बतको झगडा चर्किएपछि तिब्बतीहरु शरणार्थीका रुपमा नेपाल भित्रिने लहर चल्यो । शुरुमा नेपाल सरकारले तिनलाई शरणार्थीको मान्यता दिई बौद्ध, जावलाखेल र पोखराका शिविरमा राख्यो । तर, अहिले सरकारले ‘अवैधानिक आप्रवासी’ भन्ने गरेको छ ।
सरकारले नेपालमा चिनियाँ लामा छनौट गर्दा तिब्बत मामिलाप्रतिको दृष्टिकोण र भूमिकालाई समेत ख्याल राख्ने गर्छ । विगतमा कतिपय चिनियाँ लामाले स्वतन्त्र तिब्बतसम्बन्धी गतिविधिलाई प्रश्रय दिएका कारण विवादमा आएका थिए । त्यसैले अहिले पनि फलानोलाई बनाउने कि चिलानोलाई बनाउने भन्नेबारे दल, मन्त्री र समुदायपिच्छे फरक फरक अभिव्यक्ति आउने गर्दछ ।
खासमा चिनियाँ लामा पदवी पाउने चलन परापूर्वकालदेखि नै हो । शुरुमा आएको ‘बज्र लामा’ परिवारले उक्त अवसर पाउँछ । चिनियाँ लामाले बौद्ध स्तुप, गुम्बा र घ्याङ गुठीका करोडौं सम्पत्तिको संरक्षण र रेखदेख गर्नुपर्छ ।
अहिले चिनियाँ लामा नियुक्तिका लागि चार जनाको निवेदन परेको छ । हालका चिनियाँ लामा भूपतिबज्र हुन्, केपी ओली प्रधानमन्त्री हुँदा सीधै नियुक्त भएका । अर्का प्रतिस्पर्धी थिए, ज्योतिबज्र लामा ।
उनलाई आचरण राम्रो नभएको नाममा बनाइएन । तर, बनाइएका भूपतिबज्र नागरिकता सच्याएको, अवैध हतियार बोक्नेदेखि गैरकानुनी रुपमा रातो पासपोर्ट लिएकोसम्मका विवादमा मुछिए । अहिले ३४ वर्षीय युवा पद्मबज्रलाई बनाउने चाहना भूमिसुधारमन्त्री शशी श्रेष्ठको छ ।
उनी पहिलाका लामा ज्योतिबज्रका छोरा हुन् । उनीबाहेक भूपति, पद्मबज्र, धर्मबज्र लामाले पनि सो पदमा दाबी गरेका छन् । यो नियुक्ति गुठी संस्थानले गर्ने हो । पद्मा अर्याल मन्त्री हुँदा नियुक्त भएका पुण्यप्रसाद भुसाल गुठी संस्थानमा अध्यक्ष छन् भने ललितपुरका किरण शाक्य प्रमुख प्रशासक हुन् ।
अघिल्लो विवादास्पद चिनियाँ लामाको नियुक्ति उनै पुण्यप्रसादले गरेका थिए । तर, अहिले किरणसहित तीनजना सदस्य नयाँ छन् । सदस्यहरुमा पूर्वसभासद् रुपा महर्जन, डा.शिवराज पण्डित र शम्भु गोले हुन् ।
बौद्ध घ्याङ गुठीमा ३५ गुठीयार छन् । बौद्धमा विदेशबाट चढाइने सबै चिज चिनियाँ लामामार्फत रेखदेख हुँदै आएको छ । त्यहाँ नियुक्त हुने चिनियाँ लामाको कार्यकाल पाँच वर्षको हुन्छ ।
टिप्पणीहरू