एक झोला एम्पुल बोकेका युवक फर्पिङमै समातिए
लागूऔषध ओसारपसारमा संलग्न एक युवक समातिएका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिका ५ स्थित फर्पिङ बसपार्कबाट पाँच सय ९० एम्पुलसहित २४ वर्षीय इन्ताज अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाराको कलैया नगरपालिकाबाट टाटा सुमो भाडामा लिएर काठमाडौँ आउँदै गरेका अन्सारीलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध उनको झोलामा फेला परेको प्रहरीले जनाएको छ ।
ना. १ ज ५९५८ नम्बरको टाटा सुमोमा सवार उनको साथबाट प्रहरीले हिजो डाइजेपाम एक सय ९२ एम्पुल, नुर्फिन एक सय ९९ एम्पुल र फेनारगन एक सय ९९ एम्पुल बरामद गरेको हो ।
पक्राउ परेका अन्सारीविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू