व्यवस्थापन पढेर डाक्टर बनेका व्यक्ति प्रहरी खोरमा
चिकित्साशास्त्र अध्ययन नगरी निरोगिताको प्रमाणपत्र वितरण गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय, बागलुङबाट स्वास्थ्य परीक्षणका लागि तोकिएको शंकर पोलिक्लिनिकबाट एक जना नक्कली डाक्टरसहित अर्कोलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङका राम अर्याल र नवलपुरका गणेश भण्डारी हुन् । उनीहरु व्यवस्थापन संकायका विद्यार्थी भएको खुलेको छ । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले आज नक्कली डाक्टरलाई फेला पारेको हो । उनले चिकित्सक अनुपस्थित भएको मौकामा निरोगिता प्रमाणपत्र वितरण गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनीहरुले शरीरको चेकजाँच गरी निरोगिता प्रमाणपत्र वितरण गर्दै आएका थिए । पोलिक्लिनिकमा खोजतलास गर्दा विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्रलगायत छाप, रसिद र स्ट्याम्प प्याड भेटिएको छ ।
प्रहरीले उनीहरुलाई बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान अघि बढाएको छ ।
टिप्पणीहरू