साइनबोर्डमा मासु पसल, भित्र लागूऔषध कारोबार
काठमाडौँमा मासु पसल खोलेर लागूऔषध कारोबार गर्ने एक युवक पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ८, अत्तरखेलमा मासु पसल गरेर अवैध लागूऔषध बिक्री वितरण गर्दै आएकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा तेह्रथुम सुङनाम गाउँपालिका ४, घर भई हाल गोकर्णेश्वरमा बस्दै आएका २६ वर्षीय दीपक तामाङ हुन् । उनले कार्की मिट सप नामको मासु पसल सञ्चालन गर्दै आएका छन् ।
उक्त मासु पसलमा प्रहरीले छापा मार्दा १४ दशमलब ६६ ग्राम खैरो हेरोइन फेला परेको हो । योसँगै तामाङको साथबाट सुनको सिक्री, चाँदीको ब्रासलेट, मोबाइल तीन थान र आठ हजार नगद प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार उनले चलाउँदै आएको प्रदेश १-०१-०१५ प. ५६३० नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ । तामाङलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू