होटल ओदानमा १६ किलो हात्तीको दाह्रा, ओसार्ने रमेश नियन्त्रणमा
हात्तीको दाह्रा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । इलामको जितपुर–१, झरनाचोक घर भई हाल झापाको अर्जुनधारा नगरपालिका–३, खुदुनाबारी बस्दै आएका २५ वर्षीय रमेश राई समातिएका हुन् ।
गत चैत १७ गते काठमाडौं चक्रपथस्थित होटेल ओदानबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट गएको टोलीले हात्तीको दाह्रा (आखेटोपहार) १५ दशमलब ६८ किलो अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा कुमार लिम्बू, अशोक कार्की र रमेश सुवेदीलाई रंगेहात पक्राउ गरेको थियो ।
सोही घटनामा रमेशकोसमेत संलग्नता देखिएकाले राईलाई झापाबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंमा पठाइएको ब्युरोले जनाएको छ ।
टिप्पणीहरू