राजधानीको होटलमा वेश्यावृत्ति, नाबालिकाको प्रयोग
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौँका एक होटल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखामा होटल सञ्चालन गर्दै आएकी इलामकी चिनिमाया लामा रहेको प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले जनाएको छ ।
पीडित नाबालिकाले दिएको जाहेरीका आधारमा लामालाई आज होटलबाटै नियन्त्रणमा लिइएको हो । लामाले टोखामा सञ्चालन गरेको खाजा होटलमा चार पाँच वटा कोठा भाडामा लिएर नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
भाडामा लिएका कोठा प्रयोग गरेर उनले होटलमा आउने ग्राहकसँग यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने गरेको प्रहरीको भनाइ छ । एकजनासँग कम्तिमा एक हजार रुपैयाँ लिएर बालिकाहरुलाई यौनसम्बन्ध राख्न लगाउने र उक्त रकम आफैँले लिएर श्रमशोषण गरेको प्रहरीको आरोप छ ।
आरोपी लामालाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारवाहीका लागि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू