अस्ताए वामआन्दोलनका कर्तव्यनिष्ट योद्धा
गणेशप्रसाद दाहाल ताप्लेजुङका वामपन्थी नेता/कार्यकर्ताबीच एक हस्तीको रुपमा परिचित थिए । श्रमजीवीजनताको पक्षमा अहोरात्र संघर्ष गर्दै जीवनको उत्तराद्र्धमा पुगेका उनै दाहालको देहावसान भएको छ ।
शास्त्री अध्ययनको क्रममा बनारस हिन्दू विश्वविद्यालयमा रहँदा अखिल भारतीय छात्रसंघ मार्फत् उनी वामराजनीतिक मोर्चामा संलग्न भएकाले नेपाल फर्केपछि वामपन्थी नेताहरुको निरन्तर सम्पर्कमा रहेका हुन् । झापा विद्रोहको समयमा समेत नेताहरुको सम्पर्कमा रहेको बताउने उनी २०३३ सालदेखि शिक्षण पेशा छाडेर निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिमा होमिएका थिए ।
तत्कालीन नेकपा मालेको सक्रिय र अग्रज कार्यकर्ता हुँदै २०४८ मा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादीबीचको एकीकरणपछि बनेको एमालेका विभिन्न कमिटीमा उनी सक्रिय रहे । २०४९ मा नेकपा एमालेका तर्फबाट गाविस उपाध्यक्षमा चुनाव लडेका थिए ।
वामपन्थी राजनीतिबाट प्रशिक्षित उनमा राजनैतिक चेतना उच्च रहेको समकालीन नेताहरुले बताएका छन् । उनमा देखिएको राजनैतिक चेतनाका कारण पछिल्लो समय भूमिगत राजनीति गरिरहेको माओवादीमा आवद्ध भएको आशंकामा २०५८ र २०६१ मा सरकारी सुरक्षा फौजले गिरफ्तार गरेको थियो ।
निडर र हक्की दाहालको कडा स्वभाव, कडा प्रतिकार, कडा विद्रोह विशेषता थिए । पञ्चायतकालमा पाँचथरको नागी गाउँपञ्चायतमा अवस्थित चितोक प्राइमरी स्कुलमा २०१६ सालदेखि शिक्षण पेशामा आबद्ध उनी २०१८ मा मोती प्राथमिक विद्यालय खोक्लिङ हुँदै नेपाल राष्ट्रिय सगरमाथा प्राथमिक विद्यालय देउलिङ्गेमा अध्यापन गरेका हुन् । २०२७ सालदेखि फुङ्लिङमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए ।
राष्ट्रिय शिक्षा पद्धतिको योजनालागु भएपछि खोक्लिङमा सरुवा भएर शिक्षण पेशालाई २०३३ सम्म निरन्तरता दिएका हुन् । २०३३ सालदेखि शिक्षण पेशा छाडेर पञ्चायतीव्यवस्था विरुद्ध राजनीतिमा होमिएका दाहालको साउन २ गते झापामा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
उनी १९९८ वैशाख ८ गते बुबा टीकाराम र आमा मायादेवीका माइला सुपुत्रका रुपमा जन्मेका थिए ।
टिप्पणीहरू