छुरा प्रहारको नक्कली उजुरीकर्ता प्रहरीको फन्दामा

छुरा प्रहारको नक्कली उजुरीकर्ता प्रहरीको फन्दामा

आफूलाई छुरा प्रहार गरी पाँच लाख रुपैयाँ लुटिएकोे भन्दै प्रहरीमा रोइकराई गर्ने व्यक्ति नै शंकाको घेरामा तानिएका छन् । महोत्तरीको गौशालामा यसरी नक्कली उजुर गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने अरुणकुमार चौधरी झुठो विवरण दिएको आरोपमा समातिएका हुन् ।

चौधरीले अस्ति आफु प्र–२–०२–००४ प ३३४७ नम्बरको मोटरसाइकलमा बैंकमा पैसा जम्मा गर्न जाँदा बैंक बन्द भएको र फर्कंदै गर्दा बाटोमा आफू लुटिएको उजुरी लिएर प्रहरी कार्यालय गएका हुन् ।

रकम लुटपाटको बनावटी घटना उल्लेख गरेर उजुरी दिएपछि उनी समातिएको बताइन्छ । प्रहरीसमक्ष पेश गरेको लिखित उजुरीमा उनले गौशाला नगरपालिका–२, सम्सी गौशाला सडक खण्डस्थित रेडक्रस भवन नजिकै छुरा प्रहार गरी पाँच लाख लुटिको व्यहोरा लेखेका छन् ।

उनका दाजुभाइ मिलेर गाउँमै वैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका छन् । चौधरीले धेरै जनासँग ऋण लिएको र उक्त रकम तिर्न नसकेपछि छुरा प्रहारको कथा बुनेर रकम अपचलन गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

टिप्पणीहरू