कुकुर छाडेर सडकमा फोहोर गराउने भीमकुमारी लुटिइन्
काठमाडौँको चाबहिलमा एउटी महिलाको हातखुट्टा बाँधेर गरगहना चोरिएको छ । लुटेरा समूहले सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले लगाएको सुनको गरगहना र नगद लुटेको हो ।
गत आइतबार बिहान ३ बजेको समयमा लिम्बुले कुकुरलाई सडकमा फोहोर गराउने उद्देश्यले सटर खोलेकी थिइन् । सोही समयमा तीन जना व्यक्ति सटरभित्र प्रवेश गरेर उनको हातखुट्टा बाँधेर धनमाल चोरेर भागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लुटेराले लिम्बुको हातखुट्टा बाँधेर मुखमा टेप टाँसी कुटपिट गर्दै सुनको सिक्री, कुण्डल, फुली, औंठी र नगदलगायत धनमाल चोरी गरेका हुन् ।
लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मकवानपुर छतिवन ४ घर भई चाबहिल सरस्वतीनगर बस्ने २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर ६ जोरपाटी बस्ने २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कविरजंग कुँवर, २२ वर्षीय कल्याणकुमार सुवेदी र ४५ वर्षीया बुनु श्रेष्ठ समातिएका हुन् ।
तीमध्ये चोरीको सुनको सिक्री किनेको आरोपमा बुनुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट अनुसन्धान भइरहेको बताइन्छ ।
टिप्पणीहरू