एक वर्षमा १७ अर्बको फलफूल खाइयो

एक वर्षमा १७ अर्बको फलफूल खाइयो

नेपालमा पछिल्लो एक वर्षमा साढे १७ अर्ब रुपैयाँको फलफूल ल्याइएको छ । गत आर्थिक वर्षमा विभिन्न देशबाट १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल आयात गरिएको भन्सार विभागले जनाएको छ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो । सो मूल्यमा गत वर्ष २९ करोड ७८ लाख ८२ हजार ३७ किलो फलफूल मुलुक भित्रिएको छ ।

जसमध्ये सात अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र एक अर्ब ६३ करोड ७१ लाख ३४ हजार रुपैयाँको केरा आयात गरिएको छ ।

सोही समयमा एक अर्ब २७ करोड १९ लाख ७५ हजार रुपैयाँको सुन्तला र दुई अर्ब ४४ करोड ५४ लाख ४३ हजार रुपैयाँको अंगुर नेपाल ल्याइएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा एक अर्ब १३ करोड ६२ लाख ८८ हजार रुपैयाँको अनार, ५६ करोड १८ लाख ७५ हजार रुपैयाँको खरबुजा, २६ करोड ५४ हजार रुपैयाँको मेवा र १५ करोड एक लाख ७५ हजार रपैयाँको भुईंकटर नेपाल भित्रिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा नेपालले विभिन्न देशबाट १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको फलफूल आयात गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालले ९३ करोड ६० लाख ३६ हजार रुपैयाँ बढीको फलफूल आयात गरेको विभागको तथ्याङ्कमा उल्लेछ छ ।

टिप्पणीहरू