उपत्यकामा श्रृंखलाबद्ध डकैतीमा जेलबाट फर्केकाको संलग्नता
काठमाडौँ उपत्यकाभित्र श्रृंखलाबद्ध डकैतीमा संलग्न तीन जना पक्राउ परेका छन् । राजधानीका विभिन्न घरमा प्रवेश गरेर लुटपाट गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ पर्नेमा ३८ वर्षीय रामसिंह तामाङ, ३८ वर्षीय दिलबहादुर सिङतान र ३५ वर्षीय सुशिल भन्ने बाबुलाल थिङ हुन् । उनीहरुले आफुलाई प्रहरी र शसस्त्र समूहको सदस्य बताउँदै विभिन्न परिवारका सदस्यलाई धम्की दिएर लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।उनीहरुले गत बुधबार कीर्तिपुर नगरपालिका ६ स्थित एक स्थानीयको घरमा प्रवेश गरेर सबैलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । प्रहरीका अनुसार पक्राउ परेका तीनै जना उपत्यकाका अन्य तीन वटा लुटपाटका घटनामा पनि संलग्न देखिएका छन् ।
उपत्यका बाहिरको एउटा लु्टपाटमा समेत उनीहरु संलग्न रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाको साथबाट एक लाख ४२ हजार एक सय पाँच रुपैयाँ नगद, दुई थान खुकुरी र एक थान रड बरामद गरिएको छ । प्रहरीका अनुसार उनीहरु तीनै जना यसअघि पनि जेल बसेर छुटेका हुन् ।
टिप्पणीहरू