फरार स्याङ्जाली लम्साल समातिए

फरार स्याङ्जाली लम्साल समातिए

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दुई महिनापछि समातिएका छन् । स्याङ्जा घर भइ हाल भक्तपुर बस्दै आएका २७ वर्षीय सन्जोग लम्साललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो नियन्त्रणमा लिएको हो ।

उनले एक जनालाई खातामा रकम नभएको चेक भिडाएका थिए । उक्त चेकको रकम भुक्तान हुन नसकेपछि उच्च अदालत पाटनले उनीविरुद्ध बैंकिङ कसूर मुद्दामा गत असार ६ गते छ लाख रुपैयाँ जरिवानासहितको फैसला सुनाएको थियो । त्यसपछि लम्साल फरार भएका हुन् ।

उनलाई हिजो नियन्त्रणमा लिएपछि आज फैसला कार्यान्वयनको निम्ति काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।

अर्का ठग मीनभवनमा भेटिएविभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने प्रलोभनमा सर्वसाधारण ठग्ने प्रवृत्ति बढेको छ । हालै रोमानिया पठाएर आकर्षक तलबमा जागिर लगाइदिने प्रलोभनमा सर्वसाधारणलाई ठगेका व्यक्तिलाई पनि प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–९ घर भइ हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वर बस्ने ३९ वर्षीय छविलाल भट्टराई हुन् । भट्टराईले सिनामंगलमा रहेको आफ्नो प्रेस्टिज ह्युमन रिसोर्स प्रालिको नामबाट सर्वसाधारणलाई ठगेका हुन् । हिमाल खनाललगायत व्यक्तिलाई रोमानियाको प्रतिष्ठित कम्पनीमा रोजगारीको व्यवस्था मिलाइदिने प्रलोभनमा ठगेपछि उनी सम्पर्कविहीन भएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भट्टराईलाई आज मीनभवनबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान तथा कारबाहीको निम्ति उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

टिप्पणीहरू