दोहोर्‍याइ तेहर्‍याइ किन हुनुपर्‍यो अध्यक्ष र प्रधानमन्त्री ?

दोहोर्‍याइ तेहर्‍याइ किन हुनुपर्‍यो अध्यक्ष र प्रधानमन्त्री ?

मलाई मात्रै हो कि अरुलाई पनि लाग्छ ताज्जुव हाम्रा कम्युनिष्ट माननीय सांसद, मन्त्री, मेयर, उपमेयर तथा वडा अध्यक्षहरूको काम, क्रियाकलाप र आनीबानी देख्दा ? यिनीहरूको काम जनताको निम्ति ‘झिकिदे गाँड भन्दा थपिदे गाँड’ जस्तो । तल पालिकातिर मेयर/अध्यक्षहरू कर बढाउने धन्दामा छन्, वडा अध्यक्षहरू सिफारिस दस्तुर बढाउने धुनमा छन् ।

ऐन, नियम र कानुन बनाउने माननीय सांसदहरू देशमा महँगी बढेको छ तर संसदमा गम्भीर भएर बोल्दैनन् ? मन्त्रीहरू त झन् के बोल्थे । बोले कमिशन खुस्किन्छ, नजराना आउन बन्द हुन्छ । कम्युनिष्ट शिक्षामन्त्री छन् सायद तर तिनले किताब किन छैन विद्यार्थीलाई भनेर सोधखोज गर्दैनन्, केही मतलब छैन । निजी विद्यालयले एक कक्षाको विद्यार्थीको फिस ननगजेटेड फस्र्ट क्लास अफिसरको तलबभन्दा धेरै लिन्छन् । मन्त्रीलाई कुनै चासो छैन । गरिब जनताले आफ्ना छोराछोरीलाई कसरी पढाउन सक्छन् भन्ने पीर छैन । अर्थमन्त्री पनि कस्ता–कस्तालाई बनाउँछन् । जो हे¥यो कानै चिरेका । आजकाले त के–के पो गरेनन् भनेर भन्छन् ।

पार्टीहरू पनि उस्तै छन् । हुन त राम्रो हुनुपर्ने पार्टीहरू नै हुन् । आफ्नो पार्टीको सरकारले के कस्तो र कसरी काम गरिरहेको छ ? अहँ, मतलब छैन । देशको आर्थिक नीति कस्तो बनायो ? सामाजिक सुरक्षाको प्रबन्ध गरेको छ कि छैन ? मौद्रिक नीति कस्तो छ ? के साँच्चै सरकारले समाजवादी मार्गमा हिँड्ने प्रयास त गरेको छ ? भनेर हेर्ने र बुझ्ने प्रयास गरेको देखिन्न ।

आफ्ना सांसद तथा मन्त्रीले तोकेको जिम्मेवारी इमानदारीपूर्वक निभाएका छन् ? भ्रष्टाचार त गरेका छैनन् ? दलालहरूसँग मिलेर गर्न नमिल्ने काम गरिरहेका त छैनन् ? ओम्नीमा भएको के हो ? सेक्युरिटी प्रिन्टिङ मेसिन वा वाइडबडीमा गडबडी नभएकै हो त वा केही गडबडी भएको पो छ कि ? यस्ता विषयमा खै चासो ? कि सिंगो पार्टी नै मिलेको हुन्छ यस्तो गडबडी गर्नमा ? जसले जे गरे पनि छुट दिने, अपजसको भारी पार्टीले बोक्ने हो कि सम्बन्धितलाई जिम्मेवार ठह¥याएर पार्टीको साख जोगाउने हो ? पार्टी पनि जाँडले मातेर सडक किनारमा पल्टिई मस्तले निदाइरहेको जस्तो छ, बाल मतलब छैन !

जब जागा तब सबेरा भन्छन् तराईमा । एमाले निदाएको देखेर म चकित छु, हैरान छु कहिले जाग्ने हो ? दुईतिहाइ त संख्या नै थियो संसद्मा । दुई तिहाइवाला सरकारको शक्ति कति हुन्छ भनिरहनु परोइन तर त्योभन्दा पनि ठूलो शक्ति व्यक्ति ओली कमरेडमा केन्द्रित भएको थियो । ओलीसामु सबै लिलिपुट हुन् भन्थे । ओलीको विरोध गरे ब्याक फायर हुन्छ भनेर पार्टीका हस्तीहरूसमेत बोल्न डराउँथे । विपक्षी त सिनमा पनि थिएन । जता हेरे पनि, जता गए पनि, जोसित कुरा गरे पनि उही एउटै कुरा सुनिन्थ्यो ‘नेता भनेको त ओली नै हो’ । जंगबहादुरको भन्दा कम थिएन हैकम ।

तर, सिद्धान्तलाई बिर्सिंदा, विधि र पद्धतिलाई नमान्दा, मै हुँ भन्ने दम्भ पाल्दा र मै सर्वज्ञानी, म जत्तिको बुझकी अरु कोही छैन भन्ठान्दा सिंहासनबाट झर्नुप¥यो, आर्जित शक्ति खोसियो र परिस्थितिले अहिले मसँग उपचार गर्ने पैसा छैन भन्नुपर्ने अवस्थामा ल्याएर खडा गरिदिएको छ । ओली कमरेडको यो ओरालो यात्रा एमालेको निम्ति मात्रै घाटा नभएर सिंगो वामपन्थी आन्दोलनलाई नोक्सानी हो । तर, अझै पनि परिस्थितिलाई ठीक ठाउँमा ल्याउने अवस्था देखिन्छ । यो भनेको विचार मिल्नेहरूसँग फेरि पनि सहकार्य र एकता गर्ने हो ।

अहिले हिजोको जस्तो अवस्था छैन । ओली कमरेडले दिएको प्रतिशत थापेर मिल्न वा सहकार्य गर्न कोही पनि आउनेवाला छैन । तैपनि, समझदारी गरेर मुख्य नेता बन्न चाहने हो भने ठिक्कको हिस्सा लिएर मिल्न सकिन्छ र आफ्नो बर्चश्व जोगाउन सकिन्छ । थोडा और अच्छा खाना, बनारस में रहेना, भन्ने त भनाइ नै छ । अहिले कत्ति पनि लोभ नगर्ने, सबै समूहलाई सम्मानसहित खुशी पारेर सहकार्य गर्ने बेला हो । घटकभित्र बहुमत होइन कि ठूलो दल बन्ने हिसाबले सहकार्य गर्न राजी हुने हो भने सहकार्य हुन सक्ने सम्भावना बलियो छ । मुख्य कुरा के गर्ने भन्ने हो, जुन कुरा ओली कमरेडमै निहित छ ।

कत्तिको सूचना पुग्छ कुन्नि हेडक्वार्टरमा ? पुराना माननीयहरू स्थानीय निर्वाचनको मतपरिणाम हातमा लिएर बसेका छन् र हिसाब गरिरहेका छन् कि फलानो वडामा खाँटी भोट यति छ भनेर । तिनले कति भोटको फरकमा हारजित हुन्छ भन्ने लेखाजोखा गरिसकेका छन् । ती पुराना अनुभवी दुई÷चार करोडको जुवा नखेल्ने मुडमा छन् । यस्तो अवस्था जान्दाजान्दै अझै पनि जितिन्छ भन्ने हेडक्वार्टरको भाषा देख्दा सही रिपोर्टिङ भएको छैन भन्ने देखिन्छ ।

विभिन्न माध्यमबाट गरे–गराइएका सर्भेले पनि हेडक्वार्टरको दावालाई सपोर्ट गरेको देखिन्न । अब दम्भ त्याग्दा राम्रो हुन्छ । दोहो¥याइ तेह¥याइ किन हुनुपर्छ अध्यक्ष र प्रधानमन्त्री ? अभिभावक बनेर बसे झन् ठूलो सम्मान मिल्छ । सारा सम्पत्ति राज्यलाई दिने मान्छेको उपचार राज्यले गर्छ, नगरे पार्टीले गर्छ । यदि, यी दुबैले गरेनन् भने जनताले गर्नेछन् तर यसको शर्त भनेको फेरि पनि निकास दिने नै हो, त्याग गर्ने नै हो र समर्पण गर्ने नै हो । माथि भनेजस्तै ‘जब जागा तब सबेरा !’

टिप्पणीहरू