मेलम्चीको लापरबाहीले बस्ती जोखिममा
मेलम्ची खानेपानी आयोजनाको लापरबाहीका कारण गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ स्थित आरुबारीका स्थानीय विस्थापित हुनुपर्ने अवस्था उत्पन्न भएको छ । निर्माणाधीन खानेपानी ट्याङ्की परिसरमा थुपारिएको माटोमाथि लगाइएको पर्खाल सामान्य वर्षापछि भत्केको छ ।
वडा नम्बर ९ का वडाध्यक्ष राजीव लामाले मेलम्ची आयोजना कार्यन्वयन निर्देशनालयलाई लेखेको पत्रमा क्षतिपूर्ति तथा सम्भावित जोखिमको व्यवस्थापन गर्न आग्रह गरिएको छ । थापाले पानी खोल्सामा बनेको आयोजनाको पर्खाल भत्किँदा नजिकको टोल बस्ती तथा आवासीय भवनमा जोखिम बढेको भन्दै यथाशीघ्र व्यवस्थापन गर्न अनुरोध गरेका हुन् ।
कमजोर जगमा निर्मित पर्खालको रिटेनिङ्ग सपोर्टवाल निर्माणको ‘ड्रईङ स्टिमेट’ पनि स्थानीय टोल सुधार समितिले माग गर्दा आयोजनाले उपलब्ध नगराएको आरोप छ । टोल सुधार समितिका अध्यक्ष पासाङ्ग लामाले प्राविधिक र ठेकेदारको मिलेमतोमा गतिलो काम नभएको उल्लेख गर्दै सूचनाको हक मार्फत् सम्पूर्ण कागजपत्रको प्रतिलिपि मागेका छन् ।
निर्देशनालयले भने उल्टै आरोपबाट बच्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा खानेपानी ट्याङ्कीमा क्षति पुग्न गई खानेपानी वितरण समेत अवरुद्ध हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन भन्दै वक्तव्यबाजी शुरु गरेको आरोप स्थानीयको छ ।
नगरपालिकाकी उपप्रमुख सान्नानी लामाका अनुसार आरुबारीमा निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको ८५ लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीको सीमामा पर्ने जग्गामा सुरक्षाका लागि निर्माण गरिएको कमजोर धरातलको आरसीसी पर्खाल भत्केर खानेपानी ट्याङ्कीमा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको छ । स्थानीयका अनुसार उक्त पर्खाल ३५ फिट अग्लो छ ।
उपप्रमुखका अनुसार मेलम्ची आयोजनाका कारण बस्ती नै जोखिममा परेकाले पर्खाल सबै भत्काएर पुनः बलियो जगमा निर्माण गर्नुको विकल्प छैन । प्राविधिक र ठेकेदारको मिलेमतोमा कमजोर पर्खाल बनाइएको उल्लेख गर्दै लामाले भनिन्, ‘जोखिम व्यवस्थापनको काम मेलम्चीले यथाशीघ्र नगरे आफूहरु आयोजनाको कार्यालयमा पुगेर विरोध जनाउने छौं ।’


टिप्पणीहरू