महाभियोग सिफारिस समितिका माननीयलाई भ्याइनभ्याइ
संसदको महाभियोग सिफारिस तथा छानबिन समिति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासँग लिएको बयानको आधारमा प्रतिवेदन तयारमा जुटेको छ । हिजोसम्म राणासँग बयान लिइरहेको समितिले आज रातिसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
हिजो सिंहदरबारमा बसेको समिति बैठकले राणासँग केही अस्पष्ट विषयमा सोधनी गरेपछि प्रतिवेदन लेख्न थालिएको बताइएको छ । ‘आज दिनभरमा अन्तिम रूप दिएर प्रतिवेदन आजै रातिसम्म बुझाउँछौं,’ समितिका एक जना सदस्यले भने ।
प्रतिनिधिसभाको कार्यकाल आज मध्यरात १२ बजेपछि समाप्त हुँदैछ । आज दिउँसो प्रतिनिधिसभाको अन्तिम बैठक डाकिएको छ । समितिमा रहेका सांसदहरुलाई सभाको बैठकमा उपस्थित हुने र समितिको प्रतिवेदन लेखनमा सहभागी हुनुपर्ने बाध्यता आइलागेको छ ।
यसअघि समितिले राणाले नाम लिएका सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र केही वरिष्ठ तथा अधिवक्तालाई बयानको निम्ति बोलाएको थियो । तर पूर्व प्रधानन्यायाधीश र बहालरत तथा अवकाशप्राप्त न्यायाधीशहरुले उपस्थितिको निम्ति असमर्थ भएको जानकारी गराएका थिए । तर केही वरिष्ठ अधिवक्ता र अधिवक्ता भने समितिमा बयान दिन गएका हुन् ।
टिप्पणीहरू