रामकुमारी एकाबिहानै खुमलटारमा, बाबुराम पेरिसडाँडामा

रामकुमारी एकाबिहानै खुमलटारमा, बाबुराम पेरिसडाँडामा

राष्ट्रिय राजनीतिका निर्णायक मोडहरुमा निकै सक्रिय रहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो समय व्यस्तता थप बढेको छ । आसन्न निर्वाचनको तयारीसँगै पार्टीको आन्तरिक तथा गठबन्धनका बैठकमा सहभागी हुनुपर्दा उहाँ व्यस्त हुनुभएको बताइन्छ ।

विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटले पनि प्रचण्डको व्यस्तता उतिक्कै बढेको छ । अध्यक्ष भ्याईनभ्याईमा परेपछि समानुपातिक उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अन्तिम दिन हिजो माओवादीको पदाधिकारी बैठकसमेत स्थागित गर्नुपरेको थियो ।

हिजो पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्री प्रचण्ड भेट्न एकाबिहानै खुमलटारस्थित निवासमै पुग्नुभयो । बिहान सवा ७ बजे खुमलटार पुग्नुभएकी झाँक्रीले डेढ घण्टा कुराकानी गरेको बताइएको छ । गृहजिल्ला गुल्मीबाट गठबन्धनको साझा उम्मेदवार बन्ने तयारीमा रहनुभएकी झाँक्रीले आफूलाई प्रचण्डको समर्थन रहेको दाबी गर्दै आउनुभएको छ । तर, पछिल्लो समय गुल्मी–२ मा माओवादीका स्थानीय नेता–कार्यकर्ताले समेत दाबी गरेको भनिएका बेला झाँक्रीले प्रचण्डलाई भेट्नुभएको छ ।

पूर्वमन्त्री झाँक्रीलाई निवासमै भेटेपछि प्रचण्ड पार्टीका मधेसी नेतासँगको छलफलका लागि कोटेश्वरस्थित केन्द्रीय कार्यालय जानुभयो । उपमहासचिव वर्षमान पुन, मातृका यादवलगायत मधेस प्रदेशका नेताहरुको उपस्थितिमा प्रचण्डले त्यहाँको अन्तरविरोध, चुनावको तयारीसँगै समसामयिक राजनीतिका विषयमा बिहान सवा ९ देखि १० बजेसम्म छलफल गर्नुभएको बताइएको छ ।

कोटेश्वरको छलफल सकेर अध्यक्ष प्रचण्ड अर्थमन्त्री जनार्दन शर्मालाई लिएर हिमाली जिल्ला सोलुखुम्बु उड्नुभयो । दुधकोशी सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक पक्की भवन र दुधकोशी बहुप्राविधिक शिक्षालय भवन एकसाथ उद्घाटनका लागि उहाँ सोलुखुम्बु पुग्नुभएको हो ।

त्यहाँबाट फर्केर प्रचण्डले पूर्वमाओवादी नेतासमेत रहनुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पार्टी मुख्यालयमा छोटो बातचित गर्नुभयो । उहाँहरुबीच करिब १५ मीनेट गोप्य कुराकानी भएको माओवादी स्रोतले बताएको छ । डा. भट्टराई अपराह्न सवा ४ बजे कोटेश्वर उक्लिनुभएको थियो । माओवादीबाट चुनाव लड्ने निर्णय गर्नुभएका भट्टराई समानुपातिकको भागबण्डाका लागि कोटेश्वर पुगेको बताइएको छ ।

प्रचण्ड सोलुबाट फर्किन ढिला भएपछि समानुपातिकको सूची फाइनल गर्न बोलाइएको माओवादी पदाधिकारी बैठकसमेत प्रभावित भएको थियो । जसका कारण माओवादीले महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले तयार पारेको सूचीलाई नै अन्तिम रुप दिएर निर्वाचन आयोगमा बुझाएको थियो ।

टिप्पणीहरू