यस्तो छ आमनिर्वाचनको सुरक्षा खाका
गृहमन्त्री बालकृष्ण खाँण अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तय गरेको छ ।
गत भदौ २६ गते तय गरिएको उक्त योजनाअनुसार यी सबै ठाउँबाट एक लाख ७५ हजार तथा म्यादी १ लाख १५ हजार परिचालन हुने भएका छन् । निर्वाचन आयोगले मुलुकभर १० हजार ८ सय ८८ मतदान स्थल र झण्डै २३ हजार मतदान केन्द्र रहने बताइसकेको छ । आयोगकाअनुसारगत स्थानीय तह निर्वाचनभन्दा अब १ सय ३२ मतदान स्थल बढ्ने छन् ।
सुरक्षा योजनाअनुसार विमानस्थल, कारागार, भीआइपीका निवास, विभिन्न प्रतिष्ठान, आयोजनालगायतमा खटिएका प्रहरी र सशस्त्रलाई पनि चुनावमा खटाइने छ । ती क्षेत्रको जिम्मेवारी अस्थायी रूपमा सेनालाई दिइने भएको छ । यसपल्ट ७५ हजार सेना, ६५ हजार प्रहरी, ३२ हजार सशस्त्र र १ लाख १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि खटाउने तयारी छ । मतदानको अन्तिम परिणाम घोषणा नहुञ्जेलसम्म सुरक्षाकर्मी आफ्नो जिम्मेवारीमा रहनेछन् ।
टिप्पणीहरू