मन्दिर छिरेका दलितमाथि वडाध्यक्षको सांघातिक आक्रमण

मन्दिर छिरेका दलितमाथि वडाध्यक्षको सांघातिक आक्रमण

‘दलित भएर किन मन्दिर छिरिस् ?’ भन्दै बाजुरामा एक जना वडाध्यक्षले स्थानीय दलितमाथि निर्घात कुटपिट गरेका छन् । वडाध्यक्षको आक्रमणबाट ती दलित पुरुषको आँखा फुटेको बताइन्छ ।

मन्दिर प्रवेश गरेको निहुँमा दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको स्थानीयले बताएका छन् । बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न गएका टेकेन्द्र सुनारलाई स्थानीयले दलित भन्दै कुटपिट गरेका हुन् ।

प्रहरीका अनुसार अस्ति बिहान पूजा गर्न मन्दिर पुगेका सुनारलाई दलित भन्दै दुई तीन जनाको समूहले कुुटेका हुन् । वडाध्यक्ष जुद्धबहादुर अयडीको समूहले आफूमाथि कुटपिट गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय, बाजुरामा जाहेरी दिएका छन् । आक्रमणकारीको समूहमा वडाध्यक्ष पनि रहेको उनको जाहेरीमा उल्लेख छ ।

वडाध्यक्ष अयडीलाई हिजो पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले बताए । कुटपिटमा संलग्न स्थानीय रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार भएकाले उनीहरुको खोजी कार्य जारी रहेको डीएसपी थापाले जानकारी दिए ।

पीडित सुनारले आफूसँग भएको ६० हजार रुपैयाँसमेत उनीहरुले लुटेको दाबी गरेका छन् । प्रहरीकाअनुसार उनलाई उपचारपछि घर पठाइएको छ । उनको दाहिने आँखाको पूरै भाग सुन्निएको बताइन्छ ।

टिप्पणीहरू