टिकटको निम्ति दल बदल तीव्र, पूर्वमन्त्रीद्वारा चुनाव नलड्ने घोषणा
आगामी मंसिर ४ गतेको चुनाव मिति नजिकिँदै जाँदा दल बदल्ने क्रम दिनदिनै बढिरहेको छ । दशैँलगत्तै उम्मेदवारी मनोनयन हुने भएकाले टिकटका आकांक्षीहरु आफ्नो उम्मेदवारी सुनिश्चित गर्न ‘इधर उधर’ गर्न थालेका हुन् ।
टिकट पाउनका लागि जे पनि गर्ने प्रवृत्तिसँगै अर्को पार्टीका मान्छेलाई भित्र्याएर चुनाव जित्न सकिन्छ भन्ने मनोविज्ञानले दल बदलुहरु हरेक पार्टीमा देखिएका छन् । स्थानीय तह चुनावअघि प्रमुख पार्टी, खासगरी एमालेले अन्य दलका धेरैलाई हाताहाती टिकट दिएर भित्र्याएको थियो । त्यो क्रम अहिले पनि जारी छ ।
पार्टी फेर्ने लहर सबैभन्दा बढी मधेस प्रदेशमा छ । त्यसमध्ये अधिकांश मधेस केन्द्रीत दल जसपा र लोसपा परित्याग गरि एमालेमा प्रवेश गरिरहेका छन् । एमाले नेताहरुकै दाबी मान्ने हो भने स्थानीय चुनावयता मधेसमा झण्डै एक लाखको हाराहारीमा विभिन्न पार्टीका नेता–कार्यकर्ताले एमाले रोजेका छन् ।
हिजोमात्रै कपिलवस्तुको पकडीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लोसपाका केन्द्रीय सदस्यहरू मधुसुदन शरण चौधरी, सन्तराम अग्रहरी, भगवानदास चौधरी, राजमति यादव, सरसती चमकटिया र जामवन्ती भुज (गुप्ता) सहित कपिलवस्तु जिल्ला समितिका अध्यक्ष कैलाश अग्रहरी र सिङ्गो जिल्ला समिति एमालेमा प्रवेश गरेका थिए ।
मधेसवादी पार्टीका केही नेताहरु कांग्रेस र माओवादी केन्द्रमा पनि प्रवेश गरिरहेका छन् । हिजै लोसपा नेतृ तथा पूर्वमन्त्री चन्दा चौधरी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेकी थिइन् । काँग्रेस प्रवेश गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाले स्वागत गरेको बताइन्छ ।
चुनावका बेला पार्टी फेर्नेहरु मधेसमै किन धेरै ? त्यसमा पनि नागरिकता विधेयकको चर्को वकालत गर्ने मधेसवादी दलका नेता–कार्यकर्ताले त्यसैको विरोधमा बोलिरहेको एमाले नै किन रोजीरहेका छन् ? प्रष्ट छ– गठबन्धनका कारण सिमित सीटमा उम्मेदवारी दिनुपर्ने बाध्यताले आकांक्षीहरुको व्यवस्थापन गर्न कठिनाई हुँदा चुनावकै लागि राजनीति गर्नेहरुको रोजाइमा एमाले परेको हो ।
सबै पार्टीमा टिकटका आकांक्षीहरुको आन्तरिक दौडधुपसँगै दल फेर्नेक्रम चलिरहेका बेला माओवादी केन्द्र सर्लाहीका नेता तथा पूर्वमन्त्री रामेश्वरराय यादवले भने टिकट पाए पनि आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । माओवादीले सर्लाही–३ बाट उनको नाम सिफारिस गरि पठाएकोमा चुनावी प्रक्रिया महँगो भएको भन्दै यादवले उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
टिप्पणीहरू